global ime bank Long Banner Ad

गृहपृष्ठ धानबालीमा गभारोको प्रकोप

धानबालीमा गभारोको प्रकोप

धानबालीमा गभारोको प्रकोप

म्याग्दीमा धानबालीमा गभारो रोगको प्रकोप देखिएको छ । धानबालीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् ।

रासायनिक मलको अभाव भएपछि बिना मल नै रोपाइँ गरेका किसान धानले राम्रोसँग गाभा हाल्न नपाउँदै गभारो लाग्न थालेपछि उत्पादन घट्ने चिन्ताले पिरोलिएका हुन् । जिल्लाको रघुगंगा, मंगला, मालिका र बेनी नगरपालिकाका लेकाली क्षेत्रमा लगाएको बर्खे धान बालीमा गभारो देखिन थालेको छ । रघुगंगा गाउँपालिकाका किसानले लगाएको धानबालीमा गभारोको प्रकोप देखिन थालेको गाउँपालिकाले जनाएको छ ।

सिँचाइ पर्याप्त हुने ठाउँमा कम र सुक्खा स्थानमा गभारोको प्रकोप बढी रहेको गाउँपालिका कृषि शाखाले जनाएको हो । रोपाइँ गर्ने समयमा पानी नपरेपछि मुस्किलले धान रोपाइँ भएका ठाउँमा गभारोको प्रकोप देखिएको कृषि प्राविधिक सविना पौडेलले जानकारी दिइन् ।

त्यसैगरी पश्चिमी म्याग्दीको मंगला गाउँपालिकामा पनि गभारोले सखाप पार्न थालेपछि स्थानीय धानको बिरुवा नै उखेलेर गाउँपालिकामा ल्याएर फालिदिएका मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । बानियाँका अनुसार मंगलाको सिमलचौर, रणवाङ, बाबियाचौर, छिस्वाङ, सेराफाँट, पोकलगायत धान धेरै उत्पादन फाँटमा गभारोले धानबाली सखाप पारेको छ । गाँउपालिकाका जनप्रतिनिधि र कृषि प्राविधिकले स्थलगत अनुगमन गरी विषादी वितरण गरिएको र गभारो नियन्त्रणका लागि स्थानीय कृषकलाई आवश्यक जानकारी दिइएको बानियाँले बताए ।

तातो मौसम गभारो प्रजातिका किराका लागि अनुकूल हुने विज्ञको भनाइ छ । गभारोका कारण धान उत्पादनमा ह्रास आउँछ । यो समय गभारो मात्र नभई धानमा अन्य समस्यासमेत देखिने भएकाले किसान सचेत रहनुपर्ने प्राविधिकले बताएका छन् । गभारोको प्रकोप देखिएको धानको बोट पहिला रातो हुने, जरा कुहिने र बोटै सुकेर मर्ने गरेको ज्यामरुककोटका किसान नारायण सापकोटाले बताए ।

कृषि प्राविधिकका अनुसार गभारो नियन्त्रणका लागि धानका बेर्नाको पातको टुप्पोमा देखिएका फूललाई नष्ट गर्नुपर्दछ । त्यसैगरी धान काटिसकेपछि ठुटा जलाइदिने गरेमा पनि अर्को वर्ष गभारो लाग्न कम हुन्छ ।

प्रकाशित समय : १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु