गृहपृष्ठ नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता
नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता
नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धान सम्बन्धि कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
बैंकको प्रधान कार्यालयमा सम्पन्न सो सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका निमित्त विभागीय प्रमुख सह–प्राध्यापक नवराज अधिकारी र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काले हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौताअनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरुले नेपाल बैंकमा इन्टर्नसिप गर्न पाउनेछन भने सो विभागका विद्यार्थीहरु र प्राध्यापकमार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरु संचालन गर्नेछ ।
बैंकको अनुसन्धान सम्बन्धी कार्यको लागि व्यवस्थापन विभागले विषय विज्ञको रूपमा प्राध्यापकहरूको सूची बैंकलाई उपलब्ध गराउनेछ र सो सूची अन्तर्गतका प्राध्यापकहरुलार्ई आवश्यकताअनुसार बैंकले अनुसन्धानको लागि विषय विज्ञका रूपमा नियुक्त गर्ने बैंकले जनाएको छ । त्यसैगरी बैंकले गरेका अनुसन्धान सम्बन्धी कार्यमा व्यवस्थापन विभागमा सञ्चालित शैक्षिक कार्यक्रमहरू एमबिए र एमबिएममा अध्ययनरत विद्यार्थीहरूलाई ग्राजुएसन रिसर्च प्रोजेक्ट(जिआरपी) अन्तर्गत शोधपत्र लेखनका लागि छात्रवृत्तिस्वरूप न्यूनतम ५ जना विद्यार्थीहरूलाई बैंकले प्रति विद्यार्थी नगद तीस हजार प्रदान गर्नेछ ।
यस्तै, बैंकले व्यवस्थापन विभागमा एमवीए ईन कर्पोरेट लिडरसिपमा अध्ययन गरेका १ जना छात्र र १ जना छात्रा गरी दुई जना सर्वोत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक शैक्षिक सत्रमा नगद र मेडलसहित ‘नेपाल बैंक कर्पोरेट लिडरसिप अर्वाड’ समेत प्रदान गर्नेछ ।
प्रकाशित समय : १७:५४ बजे


















