गृहपृष्ठ सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर दोब्बरले वृद्धि , सीमाक्षेत्रमा कडाइ
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर दोब्बरले वृद्धि , सीमाक्षेत्रमा कडाइ
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा संक्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा संक्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यसका साथै साउन महिनाको दुई साताको सङ्क्रमणदर हेर्दा पनि पहिलोभन्दा दोस्रो साता दोब्बरले बढेको पाइएको छ। पहिलो साता ५६ जनामा संक्रमण देखिएकामा दोस्रो साता थप एक सय १३ जनामा संक्रमण पुष्टी भएको छ ।
भारतमा कोरोना संक्रमणदर नियमितरूपमा बढिरहेकाले सीमा जोडिएको यस प्रदेशमा संक्रमणदर बढ्दै गएको निर्देशनालयका कोभिड-१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
दुई हप्ता अगाडि शून्यमा झरेको कोरोना संक्रमणदर हाल बढ्दै गएसंगै जोखिम बढेको हो । गत असार ३२ गते शून्यमा झरेको संक्रमणदर त्यसयता बढ्दै गएको छ ।
सीमा क्षेत्रमा जोखिम बढेकाले यहाँका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राख्दै बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तररूपमा सञ्चालनमा रहेको जोशीको भनाइ छ । संक्रमणदर बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरूपमा पालना गर्न निर्देशनालयको आग्रह छ ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ५८ हजार सात सय ४३ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार आठ सय ९९ जनामा संक्रमण पुष्टी भइसकेको छ । संक्रमणकै कारण यस प्रदेशमा छ सय ३३ जनाको ज्यान गइसकेको छ ।
प्रकाशित समय : ११:११ बजे

















