गृहपृष्ठ संघीय र प्रदेशको चुनावमा एकताबद्ध भएर लाग्न कार्यकर्तालाई ओलीको आग्रह
संघीय र प्रदेशको चुनावमा एकताबद्ध भएर लाग्न कार्यकर्तालाई ओलीको आग्रह
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी संघीय र प्रदेशको चुनावमा एकताबद्ध भएर लाग्न झापाका पार्टी कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
विर्तामोडमा नेकपा एमाले झापाले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले एमालेलाई लोकप्रिय जनमत प्रदान गरेता पनि पार्टी पंक्ति पूर्णरुपमा एकताबद्ध हुन नसकेको गुनासो गरे ।
उनले भने, ‘आन्तरिक एकतालाई बलियो बनाउँदै पार्टीमा लय मिलाएर चल्नुपर्छ, विरासत फर्काउन गाह्रो छैन ।’ उनले झापा आमूल परिवर्तनको आन्दोलनको उद्गम थलो भएको हुँदा यहीँबाट पार्टीले नयाँ युगको सुरुवात गर्न कार्यकर्ताले कम्मर कसेर लाग्नुपर्ने बताए ।
उनले पार्टीभित्र अराजकता र बेथिति बढेकाले सच्चिएर अगाडि बढ्नसमेत कार्यकर्तालाई आह्वान गरे । पार्टी अध्यक्षको गृहजिल्लाका रुपमा झापालाई देश र विदेशबाट समेत नियाँलिरहेको जनाउँदै उनले आउँदो निर्वाचनमा झापामा एमालेलाई हार्न छुट नभएको दाबी गरे । उनले व्यक्तिवादी र गुटगत प्रवृत्तिबाट माथि उठेर पार्टीको विधि, पद्धति र नीतिमा अडिग हुनुको विकल्प नरहेको बताए ।
नेकपा एमाले जनताले जन्माएर हुर्काएको पार्टी हो भन्दै उहाँले पार्टीलाई जिताउन अहिल्यैदेखि वैचारिक प्रशिक्षण चलाउनुपर्ने र मतदाता शिक्षा टोलटोलमा पुर्याउनुपर्ने सुझाव दिए । उनले गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षाको अभावमा पार्टीले कार्यकर्ताको मतको संरक्षण गर्न नसकेको बताए । अध्यक्ष ओलीले एमालेका कार्यकर्ता अरूभन्दा ‘एडभान्स’ हुनका लागि रचनात्मक र उद्यमशील हुनुपर्नेमा जोड दिए । एमालेका कार्यकर्ता गरी खानसक्ने हुनुपर्ने उनको भनाइ थियो ।
प्रकाशित समय : २२:१७ बजे



















