गृहपृष्ठ ट्राफिक प्रहरीद्वारा २० वटा चोरीका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

ट्राफिक प्रहरीद्वारा २० वटा चोरीका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

ट्राफिक प्रहरीद्वारा २० वटा चोरीका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाइकल र स्कुटर खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको छ ।

ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच विभिन्न कम्पनीका १६ वटा मोटरसाइकल र ४ वटा स्कुटर सम्बन्धित धनीहरुलाई बुझाएको हो । प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ती मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण गरेका थिए ।

‘हाम्रो टोलीले उपत्यका आसपासको इलाकामा विशेष सूचना संकलन गरी अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्छ, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तहरुमा पठाउने गरेका छौँ । अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेका छौँ,’ प्रहरी वरिष्ठ उपरीक्षक भट्टले भने ।

भट्टले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयं सवारी धनी पनि विशेष चनाखो र सजग हुनुपर्ने बताए । सवारी चालक थप जिम्मेवार बनी सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न उनले अनुरोध गरे ।

मोटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी सक्रिय रहेको र नियन्त्रणका लागि विशेष अभियानलाई प्रभावकारी बनाउन पीडित सहायता इकाईबाट सादा पोशाकमा थप ट्राफिक प्रहरी समेत परिचालन गरिएको उनले जनाए ।

सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेसन’ मा लगइन गरेर अनलाइनमार्फत् समेत निवेदन दिन ट्राफिक कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित समय : १५:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु