गृहपृष्ठ नागरिकको सूचनाको हक सुनिश्चित गर्न रासस चुस्तरूपमा लागोस् : प्रधानमन्त्री देउवा

नागरिकको सूचनाको हक सुनिश्चित गर्न रासस चुस्तरूपमा लागोस् : प्रधानमन्त्री देउवा

नागरिकको सूचनाको हक सुनिश्चित गर्न रासस चुस्तरूपमा लागोस् : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वमा सूचना र प्रविधिको द्रुत गतिमा विकास भइरहेको सन्दर्भमा हाम्रा सञ्चार माध्यमलाई पनि समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक र परिमार्जित गर्दै लैजानुपर्ने बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्ने उल्लेख गरे। ‘यही मान्यतालाई आत्मसात् गर्दै नागरिकको सूचनाको हकलाई सुनिश्चित् गर्न राससले पनि आफ्ना सेवालाई थप चुस्त बनाउन सबै संयन्त्र र क्षमता परिचालन गर्न सकोस् भन्ने मेरो कामना छ’ उनले भने ।

राससले आफ्नो भौतिक विकाससँगै सूचनामा पहुँच बढाई सञ्चार माध्यममार्फत् देशवासीलाई सुसूचित गर्ने काममा अब्बलरूपमा आफूलाई स्थापित गर्न सक्नुपर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो । रासस नेपालका आमसञ्चार माध्यमलाई समाचार प्रदान गर्दै आएको सेवा प्रदायक समाचार संस्था हो । विसं २०१८ मा स्थापना भइ नेपालका सञ्चार माध्यमलाई समाचार सेवा प्रदान गर्दै आएको राससले आफ्नो स्थापनादेखि नै नेपाली र अंग्रेजी भाषामा स्वदेशी र विदेशी समाचार तथा तस्बिर उपलब्ध गराउँदै आएको छ । साथै हालै मात्र राससले टेलिभिजन एवं डिजिटल मिडियाका लागि श्रव्य दृश्य (भिडियो) सेवा पनि सुरु गरेको छ ।

प्रधानमन्त्री देउवाले देश र विदेशका सञ्चारमाध्यमलाई स्वदेशी र विदेशी समाचार उपलब्ध गराउँदै आएको राससले देशका बढीभन्दा बढी सञ्चार माध्यममार्फत् सूचना सम्प्रेषण गरी नागरिकलाई सूचना प्रदान गर्नुपर्ने बताए । उनले भने, ‘कुनै पनि नागरिकलाई सूचना दिनु भनेको उनीहरुको मौलिक हकको सम्मान गर्नु हो । वर्तमान सरकार यही मान्यतामा अडिग छ । सूचना नागरिकको कानुनी अधिकार मात्र नभएर उनीहरुको अवसर एवं ज्ञानको स्रोत पनि हो । त्यसैले कुनै पनि नागरिकलाई सूचनाबाट बञ्चित गर्नु भनेको उनीहरुलाई आफ्ना सम्भावना र अवसरबाट नै वञ्चित गर्नु हो भन्ने मान्यता राखेर राससले काम गर्नुपर्छ ।’

वर्तमान सरकार नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न कटिबद्ध रहेको उल्लेख गर्दै उनले आफू सदैव पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा अडिग रहेको बताए । सरकारको यो मान्यतालाई राससजस्ता समाचार प्रदायक संस्थाहरूले पनि सम्मान र विस्तार गर्नुपर्ने उनको भनाइ थियो । जहाँ लोकतान्त्रिक शासन प्रणाली छ, त्यहाँ मात्र प्रेस स्वतन्त्रता सम्भव हुने बताउँदै उनले यो वास्तविकतालाई ध्यानमा राखी लोकतान्त्रिक प्रणालीको पक्षधरतामा मुलुकको प्रेस उभिनुपर्ने उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले सरकारको यो मान्यतालाई राससले ध्यानमा राखोस् र नागरिकलाई सूचना र शिक्षा दिने आफ्नो जिम्मेवारीमा अझ प्रभावकारीरूपमा अघि बढ्न सकोस् भनी शुमकामना व्यक्त गरे । ‘राससले समयानुकूल आफ्ना समाचार सेवाहरुमा विकास गर्दै लैजानु आवश्यक छ र यसका लागि प्रविधि र आफ्नो क्षमताको विकास र विस्तारमा पनि ध्यान दिन जरुरी छ,’ उनले भने ।

स्वदेशी र विदेशी सञ्चार माध्यमलाई समेत समाचार सेवा प्रदान गर्दै आएको छ दशकभन्दा पुरानो समाचार संस्था राससले आगामी दिनमा राज्यको एक आधिकारिक सूचना बैंकको रुपमा रहेर काम गर्न र नागरिकको सूचनाको अधिकारको सम्मान गर्दैै अघि बढ्न उनले आग्रह गरे ।

राज्यको चौथो अंग पत्रकारिता क्षेत्रको व्यवस्थित विकासका लागि विश्वासिलो, सत्य र तथ्यपूर्ण सूचना तथा समाचारको आवश्यकता पर्ने उल्लेख गर्दै राससले यो आवश्यकता धेरै हदसम्म पूरा गर्दै आएको प्रधानमन्त्री देउवाले उल्लेख गरे ।

नेपालमा व्यावसायिक पत्रकारिताको विकासमा राससको आफ्नै विशिष्ट योगदान रहेको कुरा सबैलाई अवगत नै रहेको बताउँदै प्रधानमन्त्री देउवाले राससका मेहनती, इमान्दार र व्यावसायिक सम्पादक तथा संवाददाताहरूकै कारण राससले आजको लोकप्रियता र प्रसिद्धि हासिल गर्न सकेको उल्लेख गरे । राससको व्यावसायिक छविमा आँच आउन नदिइ यसलाई विश्वसनीय र भरपर्दो समाचार सेवा प्रदायक संस्थाको रूपमा निरन्तर अघि बढाउन आवश्यक सहयोगका लागि सरकार सकरात्मक रहेको उनले बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘नागरिकहरू जति शिक्षित र सुसूचित हुन्छन, सरकार त्यत्तिकै नागरिकप्रति जिम्मेवार र जवाफदेही बन्न बाध्य हुन्छ । अतः नागरिकलाई शिक्षित र सुसूचित गर्ने गरी सञ्चार माध्यमले सत्य तथ्य सूचना प्रवाह गर्न जरुरी छ ।’

‘तथ्यहीन, भ्रामक र समाजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकमा भ्रममात्र सिर्जना गर्दैन, यसले पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार गर्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘स्वच्छ पत्रकारिताको विकासमा सहयोग पुर्याउने गरी राससले सूचना प्रवाह गर्न सदैव सजग हुनुपर्दछ ।’

समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सहरी विकास मन्त्री मेटमणि चौधरी, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल, उच्च पदाधिकारीलगायतको उपस्थिति थियो ।

विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त १६ करोड ८६ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । प्रधानमन्त्री देउवाबाटै २०७४ कात्तिक ९ गते शिलान्यास भएको ‘ब्लक ए’ र ‘ब्लक बी’ भवनमा ५४ कोठा छन् । चार तले यी भवनबाट राससको व्यवस्थापनसहित सबै सेवा सञ्चालन हुने छ ।

प्रकाशित समय : १२:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु