गृहपृष्ठ हेरल्ड कलेजका ४८१ विद्यार्थी दीक्षित
हेरल्ड कलेजका ४८१ विद्यार्थी दीक्षित
हेरल्ड कलेज काठमाडौले दोस्रो दीक्षान्त समारोह बुधबार सम्पन्न गरेको छ । समारोहबाट ४८१ जना विद्यार्थी दीक्षित भएका छन् ।
सन् २०१९/२० मा स्नातक तह उत्तीर्ण बिएस्सी हन्स कम्प्युटर साइन्सका १६०, बिएस्सी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका २६ र सन् २०२०/२१ मा स्नातक तह उत्तीर्ण बिएस्सी हन्स कम्प्युटर साइन्सका २४९ र बिएस्सी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका ४६ विद्यार्थी दीक्षित भएका हुन् । कोभिड महामारीका कारण सरकारले तय गरेका विभिन्न स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएकाले उक्त समारोह दुई वर्षपछि भएको हो ।
आइएनजी ग्रुपअन्तर्गत पर्ने हेरल्ड कलेजले बेलायतको युनिभर्सिटी अफ वुल्भरह्याम्पटन, युकेबाट सम्बन्धन प्राप्त गरेको छ । दीक्षान्त समारोहमा युनिभर्सिटी अफ वुल्भरह्याम्पटन विश्वविद्यालयका प्रोभाइस चान्सलर टिम स्टिलले दीक्षित विद्यार्थीलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए । प्रोभाइस चान्सलर टिमले दीक्षित विद्यार्थीलाई बधाई दिँदै नेपालको कलेजसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।
यसैगरी समारोहलाई सम्बोधन गर्दै आइएनजी ग्रुपका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले हेरल्ड कलेजले विद्यार्थीहरूलाई नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएको बताए । ‘नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गरी हेरल्ड कलेजले एउटा बेन्चमार्क बनाएको छ,’ अध्यक्ष बुढाथोकीले भने, ‘हेरल्ड कलेजबाट दिक्षित विद्यार्थीले नेपालमा मात्रै नभई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम छन् ।’

नेपालमा सन् २०१७ देखि सञ्चालन हुँदै आएको उक्त कलेजमा अहिले स्नातक तहमा ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी, ब्याचलर इन इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र स्नातकोत्तर तहमा इन्टरनेसनल मास्टर्स अफ बिजनेस म्यानेजमेन्ट विषय पढाइ हुँदै आएको छ । कलेजले विद्यार्थीको एटिच्युड, एकेडेमिक्स र एटेन्डेन्स अर्थात् ‘ट्रिपल ए’का आधारमा कलेजमा भर्ना भएका १० प्रतिशत विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
हाल आइएनजी ग्रुपअन्तर्गत काठमाडौंमा इस्लिंटन कलेज, हेरल्ड कलेज काठमाडौं, पोखरामा इन्फरम्याटिक्स कलेज पोखरा, विराटनगरमा विराटनगर इन्टरनेसनल कलेज र इटहरीमा इटहरी इन्टरनेसनल कलेज सञ्चालनमा रहेका छन् ।
प्रकाशित समय : १५:१८ बजे



















