गृहपृष्ठ रुकुमपूर्व पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

रुकुमपूर्व पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

रुकुमपूर्व पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

रुकुमपूर्वलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आज रुकुमपूर्वलाई पूर्णखोप सनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माविको हलमा आयोजना गरिएको एक कार्यक्रमका बीचमा लुम्बिनी प्रदेशसभाका सदस्य तेजबहादुर ओलीले पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा समारोहको उद्घाटन गरेका छन् । गत वर्ष असोज १३ गते रुकुमपूर्वलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । झण्डै एक वर्षपछि आज जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । रुकुमपूर्वमा जन्मेदेखि १२ महिनासम्मका एक हजार ११९ र १२ देखि २३ महिनासम्मका एक हजार १९७ बालबालिका छन् ।

खोप लगाउने लक्षित कुनै पनि बालबालिका खोप लगाउनबाट छुटेका छन् कि छैनन् भनेर जिल्लाको तीनवटै गाउँपालिका र स्वस्थ्य कार्यालय रुकुमपूर्वले गरेको सर्वेक्षणमा कुनै पनि बालबालिका खोप लगाउनबाट छुटेको नपाइएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रुकुमपूर्वले जनाएको छ ।

जिल्लास्थित सबै वडा कार्यालयले बस्तीबस्तीमै पुगेर सर्वेक्षण गरेका थिए भने गाउँपालिका र स्वास्थ्य कार्यालयले जिल्लाको केही ठाउँमा नमूनाका रुपमा सर्वेक्षण गरेका थिए । स्वास्थ्य कार्यालयले नमूनाका रुपमा जन्मेदेखि १५ महिनासम्मको एक हजार ४६२ र १६ देखि २३ महिनासम्मका ९६४ जनामा सर्वेक्षण गर्दा कुनै पनि बालबालिका छुटेको पाइएको छैन ।

नेपालमा विसं २०३४ देखि रुपन्देही, सिन्धुपाल्चोक र धनुषाबाट खोप लगाउने कार्यक्रम सुरु भएको हो । कार्यक्रम समारोहको क्रममा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणामा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै रुकुमपूर्वबाट निर्वाचित प्रदेशसभाका सदस्य तेजबहादुर ओलीले आधारभूत स्वास्थ्य बिना कुनै पनि नागरिक स्वास्थ्य हुन नसक्ने बताए । उनले स्वस्थ नागरिक नभए देश पनि समृद्ध नहुने भनाइ राखे । यद्यपि अहिले जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नु स्वास्थ्यको क्षेत्रमा ठुलो सफलता भएको प्रदेशसभा सदस्य ओलीले बताए ।

खोपले बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित राख्ने बताउँदै उनले अहिलेका बालबालिका भोलि देशका कर्णाधार रहेको उल्लेख गरे । रुकुमपूर्वलाई आज पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिए पनि यसको दिगोपनालाई आगामी वर्षमा पनि कायम राख्न सबैले हातेमालो गर्नुपर्ने भनाइ उनको थियो ।

प्रकाशित समय : २०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु