गृहपृष्ठ पर्साको कालिकामाईमा जसपा र कांग्रेसबीच झडप, वडाध्यक्षसहित ५ जना घाइते
पर्साको कालिकामाईमा जसपा र कांग्रेसबीच झडप, वडाध्यक्षसहित ५ जना घाइते
पर्साको कालिकामाई गाउँपालिकामा जसपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । शुक्रबार डाकिएको गाउँ सभा स्थगित भएपछि झडप भएको हो । झडपमा परी वडा नं ३ का अध्यक्ष सञ्जयकुमार पटेलसहित ५ जना घाइते भएका छन् ।
घाइतेहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । वडाध्यक्षको गालामा चोट लागेको छ । भित्र र बाहिर गरी पाँच वटा टाँका लागेको नारायणी अस्पतालले जनाएको छ ।
त्यसैगरि वडा नं ४ बस्ने अन्दाजी ७० वर्षीय महम्मद गफार मिया, ४० वर्षीय महम्मद एकबाल मिया, ४५ वर्षीय अकबर मिया र ३१ वर्षीय विजय चौरसिया घाइते भएका छन् । घाइतेमध्ये महम्मद मियाको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।
घटनामा संलग्न रहेको आरोपमा ५५ वर्षीय ध्रुव साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओम प्रकाश खनालले जानकारी दिए । ‘गाउँ सभामा नै प्रहरी टोली खटिएको थियो, झडप नै भयो भनेपछि थप टोली पठायौं’ उनले भने, ‘त्यसपछि हामीले भिडलाई तितर वितर पारेका थियौं, पछि वडा नं ३ बालुवाकट्टी जाने बाटोमा कांग्रेस र जसपाको कार्यकर्ताबीच झडप भएको थियो ।’
शुक्रबार दिउँसो २ बजेतिर कालिकामाईको आठौं गाउँसभामा सुरु गर्न लागिएको थियो । सभामा उपाध्यक्ष राजमति बरैनी, वडा नं २ का अध्यक्ष सोनालाल चौरसिया, वडा नं ४ का अध्यक्ष सञ्जय साह गोढ लगायत २९ जना सदस्य पुरै सहभागी भएका थिए । तर सहमति हुन नसकेपछि शनिबार अपराह्न ४ बजे श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय हरिहरपुरविर्तामा बस्नेगरि बैठक डाक्ने तय भयो ।
सोही अनुसार अध्यक्ष बशिष्ट कुमारको आदेशले प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले सूचना पनि टाँस गरेका थिए । उनीहरु बसिरहेकै ठाउँमा वडा नं ४ का अध्यक्ष सञ्जय साह गोढको भाइ रञ्जित आएका थिए । वडा नं ३ का अध्यक्ष पटेलले गाउँ सभा सदस्य र सहयोगी कर्मचारी मात्रै रहेको ठाउँमा सरोकार नभएको मानिस नआउन भनी प्रहरी लगाएर रञ्जितलाई बाहिर पठाएका थिए । त्यसैले गर्दा आक्रोशमा आएका रञ्जित साह गोढले आफू बाहिर निस्केपछि अचानक आक्रमण गरेको वडा नं ३ का अध्यक्ष पटेलको आरोप छ ।
त्यसपछि आक्रोशमा आएका दुवै पक्षका कार्यकर्ताहरुले कालिकामाईको विभिन्न ठाउँमा झडप गरेका थिए ।
प्रकाशित समय : ०७:४५ बजे