गृहपृष्ठ विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबियालाई स्कटल्यान्डले हरायो
विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबियालाई स्कटल्यान्डले हरायो
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा स्कटल्यान्डले दोस्रो जित हात पारेको छ ।
घरेलु टिम स्कटल्यान्डले बिहीबार भएको खेलमा नामिबियालाई ३ विकेटले हरायो । नामिबियाले दिएको २१६ रनको लक्ष्य स्कटल्यान्डले ७ विकेटको क्षतिमा ४८.५ ओभरमा पूरा गर्यो ।
स्कटल्यान्डका लागि क्रिस ग्रेइभ्सले नटआउट ५३ रन र सफयन सरिफले नटआउट ४० रन जोडे । त्यसअघि कलुम म्याकलियोर्डले ५९ रनको योगदान दिएका थिए । बलिङमा नामिबियाका रुबेन ट्रम्पलम्यानले ३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ७ विकेटको क्षतिमा २१५ रन जोडेको थियो । नामिबियाका लागि जान फ्राइलिंकले नटआउट ६० रन र कप्तान इरामसले ५६ रन जोडे ।
सिरिजमा यसअघि पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले स्कटल्यान्डलाई हराएको थियो । स्कटल्यान्डले भने नामिबियासँगका दुवै खेलमा जित निकालेको छ ।
७ देश सम्मिलित लिग-२ मा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ । ओमानले लिग-२ अन्तर्गतका सबै खेल खेलिसकेको छ ।
२३ खेलबाट ३२ अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छन् । पाँचौ स्थानको नेपालले १८ खेलबाट १७ अंक जोडेको छ । छैठौं स्थानको नामिबियाले १७ खेलबाट १६ अंक जोडेको छ । २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी सातौं स्थानमा छ ।
प्रकाशित समय : ०२:५२ बजे



















