सडक निर्माणको ठेक्का प्रक्रिया पूरा
वि.सं.२०७७ असार २९ सोमवार १३:४५
shares

क्षेत्रीय सहरी विकास संघीय आयोजना कार्यान्वयन ईकाई र कालिका कन्ट्रक्सनबीच धनगढी उपमहानगरपालिकामा निर्माण हुने साढे १० किलोमिटर सडकको सम्झौता भएको छ ।
कैलाली र कञ्चनपुर जिल्लाको चार स्थानीय तहमा आधुनिक सडक निर्माण गर्ने क्षेत्रीय शहरी विकास आयोजनाले ४ वटै स्थानीय तहमा ठेक्का प्रक्रिया पूरा गरेको छ । अब चारवटै स्थानीय तहमा ४४ किलोमिटर सडक बन्दै छ ।
संघीय आयोजना कार्यान्वयन ईकाईले धनगढी उपमहानगरपालिका, गोदावरी र शुक्लाफाँटा नगरपालिका र भीमदत्तनगरपालिकामा ठेक्का लगाएको छ । गत वर्ष जेठमा टेण्डर आब्हान भएका ति सडकहरू निर्माणका लागि ईकाईले सम्झौता गर्न सकेको थिएन् । संघीय आयोजना कार्यान्वयन ईकाईका क्षेत्रीय कार्यक्रम संयोजक परिक्षत कडरियाले अब चाडै काम सुरु हुने बताए । उनले धनगढीमा साढे १० किलोमिटर आधुनिक सडक निर्माण हुने दावी गरे ।
चारवटै स्थानीय तहहरूमा निर्माण कम्पनीहरूलाई सम्झौता भएको मितिले २४ महिनामा काम सक्ने गरी म्याद दिएर सम्झौता गरिरहेको छ । उनले कोभिड–१९ लगायतका कारणले काममा अबरोध नभएमा २४ महिनामा अत्याधुनिक सडक निर्माण कार्य सम्पन्न हुने कालिका कन्ट्रक्सनका प्रतिनिधि प्रकाशचन्द्र खरेलले बताए । उनले निर्माण कार्य समयमा सम्पन्न गर्नेका लागि सबैको सहयोग आवश्यक पर्ने बताए ।
२०७६ असारमै संघीय आयोजना कार्यान्वयन ईकाईले सडक विस्तार कार्यक्रमको प्राविधिक टेण्डरको मुल्यांकन गरी स्वीकृतिका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाएको थियो । धनगढी उपमहानगरपालिका नगरप्रमुख नृपबहादुर वडले अथक मेहन्तपछि क्षेत्रीय सहरी विकास आयोजनाको कार्यक्रम लागू भएका कारण यसमा सबैले सहयोग गनुपर्ने बताए । उनले पहिलो चरणको काम सफलतापूर्वक सम्पन्न भएमात्रै दोस्रो चरणको कामक्रम सुरु हुने बताए ।
क्षेत्रीय सहरी विकास कार्यक्रम अन्तर्गत ति चार वटै स्थानीय तहमा सौर्यवत्ती, फुटपाथ, ढल निकास, मिड ड्रेन, साइड ड्रेन, डिभाइडर, सोलार सडक वत्ति, अण्डरग्राण्ड विद्युतीकरण निर्माण सहितको चार लेन र दुई लेनका सडकहरू गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको छ ।

























