गृहपृष्ठ बाढी गाउँ पसेपछि कैलालीका सय घर डुबानमा
बाढी गाउँ पसेपछि कैलालीका सय घर डुबानमा
लगातारको वर्षासँगै आएको बाढी गाउँ पसेपछि कैलालीमा एक सयभन्दा बढी घर डुबानमा परेका छन् । कैलालीका कान्द्रा, काडा र पथरैया नदीमा आएको बाढी भजनी र जोशीपुर गाउँमा प्रवेश गरेपछि बस्ती डुबानमा परेका हुन् ।
काडा नदीमा पानीको वहाब बढेपछि भजनी नगरपालिकाका ६० भन्दा बढी घर डुबानमा परेका छन् । जोशीपुरमा काडा नदी गाउँ पस्दा २५ घर डुबानमा परेका छन् । त्यस्तै कान्द्रा नदीमा आएको बाढीले भजनीकै १६ घर डुबाएको छ भने पथरैया नदीले जोशीपुरका ८ घर डुबानमा परेका छन् ।
घरमा पानी पसेपछि उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । देशभर पानी परिरहेकाले विस्थापितहरूलाई तत्काल कसरी थातबासको व्यवस्था मिलाउने भन्नेमा जिल्ला विपद व्यवस्थापन समितिले काम गरिरहेको जनाएको छ ।
अहिले पनि कैलाली र कञ्चनपुरमा भारी वर्षा भइरहेकाले कान्द्रा, मोहना, घुराहा, खुटिया, स्याउली, चौधरलगायतका नदीमा बाढी आउने खतरा भएको भन्दै समितिले व्यवस्थापनको तयारी गरेको हो ।
प्रकाशित समय : १३:४४ बजे



















