गृहपृष्ठ उपमहानगरका कर्मचारीको घिनलाग्दो हर्कत : ‘मन नपरेका’ सहकर्मीको कुर्सीमा दिसा
उपमहानगरका कर्मचारीको घिनलाग्दो हर्कत : ‘मन नपरेका’ सहकर्मीको कुर्सीमा दिसा
सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका हो धनगढी उपमहानगरपालिका । प्रदेशको अस्थायी राजधानी तथा मुख्य सहरका रुपमा रहेको धनगढी उपमहानगरपालिकामा सुन्दै लाजमर्दो घटनाहरु घट्न थालेका छन् । आपसी मनमुटावका कारण कर्मचारीहरु एक अर्काको कुर्सीमै दिसा राख्ने हर्कत गर्न थालेका छन् ।
उपमहानगरपालिकामा वर्षौंदेखि कार्यरत केही स्थानीय कर्मचारीको हालीमुहाली आरोप लाग्दै आएको छ । उनीहरु राजनीतिक पहुँचका आधारमा उपमहानगरपालिकामा वर्षौंदेखि डेरा जमाएका उनीहरु निजामती सेवाका कर्मचारीलाई काम गर्नै नदिने वातावरण बनाउन उद्दत रहेको पीडितहरुको गुनासो छ । ‘आफ्नो स्वार्थ नमिल्नेलाई जुनसुकै हालतमा सिध्याउनुपर्छ भन्ने उहाँहरुको मिसन छ । कसरी आफ्नो स्वार्थ पूर्ति गर्न सकिन्छ भन्ने मनसायका साथ उहाँहरु (केही स्थानीय कर्मचारी) लाग्नुभएको छ,’ एक निजामती कर्मचारीले भने ।
आफूअनुकुल स्वार्थमा नमिल्ने र मन नपराइएका सहकर्मीलाई अनावश्यक तनाव दिने, अनुचित कार्य गर्न बाध्य बनाउने, सार्वजनिक रुपमा बदनाम गराउने गतिविधिमा केही कर्मचारी सक्रिय रहेको उनले बताए । एक साताअघि योजना तथा बजेट शाखा प्रमुख सत्यराज जोशीको कुर्सीमा दिसा भेटिएको थियो । ‘जोशी सरको कुर्सीमा दिसा राखिनुको भित्री रहस्य पनि त्यही हो,’ ती कर्मचारीले भने ।
उनका अनुसार जोशीले सरुवा भएर धनगढी आएको केही महिनासम्म कुर्सीसमेत पाएका थिएनन् । उनलाई कुनै जिम्मेवारी नै दिइएको थिएन । त्यसपछि पनि पटक-पटक आफूअनुकुल चलाउने उनीहरुको प्रयास असफल भएपछि जोशी आँखाको तारो बनेका थिए । त्यही मानसिकता बोकेका उनीहरुले जोशीको कुर्सीमा दिसा राखेर बदनाम गराउन खोजेको ती कर्मचारीको दावी छ ।
उपमहानगरपालिकाका योजना तथा बजेट शाखा प्रमुख जोशीकोे कुर्सीमा दिसा भेटिएको हप्ता दिन नबित्दै मेकानिकल सबइन्जिनियरको कुर्सीमा समेत दिसा भेटियो । ‘म बस्ने कुर्सीमा दिसा राखिएको थियो,’ मेकानिकल सबइन्जिनियर सतविर रानाले भने, ‘कार्यालय समयमै आइपुगेको थिएँ । सरसरफाई गर्छन् गर्न त । तर खोई उहाँहरुले देख्नुभयो कि,’ उनले भने ।
कुर्सीमा दिसा भेटिनेबित्तिकै सबइन्जिनियर रानाले प्रशासन शाखा प्रमुख नारायणप्रसाद शर्मा लगायतका कर्मचारीलाई खबर गरेका थिए । उनको कार्यकक्षमा पुगेका शर्माले कार्यालय सहयोगीलाई कुर्सी सफा गर्न लगाएका थिए । यता प्रशासन तथा जनशक्ति विकास शाखा प्रमुख शर्माले भने उक्त विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
घटनाको विषयमा छानबिन भइरहेको उपमहानगरले जनाएको छ । शंकाको घेरामा रहेका स्थानीय कर्मचारीनिकट भनिएका व्यक्तिसमेत सो दिन जोशीको कार्यकक्षमा प्रवेश गरेको सीसीटीभी फुटेजमा देखिएको बताइएको छ । तर कुर्सीमा दिसा रहेको प्रत्यक्ष देख्ने कर्मचारीहरु भने घटनाबारे खुलेर बोल्न मान्दैनन् । छानबिन समितिले समेत उनीहरुकै बयानका आधारमा रिपोर्ट बनाएर पेश गर्ने तयारी गरेको छ ।
समितिका सदस्यहरु भने छानबिनकै क्रममा रहेकाले घटनाबारे अहिले नै केही भन्न नसकिने बताउँछन् । ७ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी गत साउन ९ गते प्रशासकीय अधिकृत सुरेन्द्र कार्कीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । साउन १६ गते समितिलाई दिइएको म्याद सकिँदैछ ।
प्रकाशित समय : २०:४० बजे



















