गृहपृष्ठ क्वारेन्टिन बन्दै छन् डिप्रेसनका कारक
क्वारेन्टिन बन्दै छन् डिप्रेसनका कारक
- वसन्तप्रताप सिंह, बझाङ
- कृष्ण अधिकारी, नेपालगन्ज
- लक्ष्मी बस्नेत र विद्या राई, काठमाडौं
न्यूनतम सुविधा विनाका क्वारेन्टिन र आइसोलेशनहरूले व्यक्तिको मानसिक स्वास्थ्य बर्बाद बनाएका छन् । यस्ता क्वारेन्टिनमा बसेकै वेला केहीले आत्महत्या समेत गरेका छन् । विशेषज्ञका भनाइमा ‘लकडाउनयता समाजमा मानसिक रोग बोकेर बाँच्नेहरूको संख्या बढ्दो छ ।’
क्वारेन्टिनमा बसेका व्यक्तिले आत्महत्या गरेका धेरै उदाहरण छन् । ७ असार २०७७ राति सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको छविस पाथीभेरा गाउँपालिका वडा नं ७ मझखोरी माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा एक ३० वर्षीय पुरुषले आत्महत्या गरेका थिए । तीन दिनअघि मात्रै भारतबाट फर्केर उनी स्थानीय उमेश बोहरा र जनक बोहरासँगै सो क्वारेन्टिनमा बसेका थिए ।
उमेश भन्छन्, ‘ती व्यक्ति वेलावेलामा आफू बसेको कोठामा बाहिरबाट ताल्चा लगाउँछु र घर गएर बस्छु भन्थे । एक दिन त दिनभरि कोहीसँग बोलेनन् । अर्को दिन राति झुन्डिएर आत्महत्या गरेछन् । हामीले भोलिपल्ट बिहान मात्रै थाहा पायौं ।’
क्वारेन्टिन हदै अव्यवस्थित थियो । तनाव बोकेर फर्किएका ती युवालाई सम्झाउने, बुझाउने र मनोपरामर्श दिने व्यवस्था त परको कुरा, राम्रो खाने, बस्ने सुविधा समेत थिएन । ‘कोरोना सर्ने डरले क्वारेन्टिनमा कोही पनि आउँदैनथ्यो’ जनक भन्छन्, ‘तीन चार दिनमा एक पटक पुलिस आउँथे, टाढैबाट एकछिन हेरेर जान्थे ।’
कोरोना महामारीको तनावमा आफ्नो जीवन समाप्त गरेका युवाहरूको सूची लामो छ । १९ असार २०७७ दिउँसो बझाङको खप्तड छान्ना गाउँपालिकाका १८ वर्षीय एक युवाले आफू कोरोना संक्रमित रहेको जानकारी पाउनासाथ आत्महत्या गरेका थिए ।
१६ जनाको समूहमा भारतबाट फर्किएका उनी १४ दिन क्वारेन्टिनमा बसेर १४ असारमा घर फर्किएका थिए । ‘बिहान उनी गाउँ नजिकैको जंगलमा भैंसी चराउँदै रहेछन्,’ खप्तड छान्ना गाउँपालिकाका प्रवक्ता रामबहादुर सिंहले भने, ‘कसैले फोन गरेर उनलाई कोरोना लागेको कुरा सुनाइदिएछ । त्यो सुन्नासाथ त्यहींको एउटा रूखमा गएर झुन्डिएछन् ।’
बाजुरा बडिमालिका नगरपालिका २ भौनेराको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषले ३० जेठ २०७७ मा आत्महत्या गरेका थिए । उनी दुई दिनअघि मात्रै भारतबाट फर्किएका थिए । ४ असारमा आएको परीक्षणबाट उनी कोरोना संक्रमित रहेको पुष्टि भएको थियो ।
त्यसैगरी अर्घाखाँचीको शितगंगा ५ मा ४५ वर्षीय युवा, रोल्पाको गंगादेव गाउँपालिका ५ का ३१ वर्षीय युवा र तनहुँको घिरिड गाउँपालिका वडा नम्बर ३ का एक ४९ वर्षीय पुरुषले पनि आत्महत्या गरेका छन् । उनीहरू तीनै जनाको आत्महत्या प्रकृति समान छ । विदेशबाट घर फर्किएर क्वारेन्टिनमा बसेका वेला कोरोना पोजेटिभ देखिएपछि मानसिक विचलनले आत्महत्या गरेको देखिन्छ ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार १९ वैशाख २०७७ देखि २३ असार २०७७ को दुई महिनामा क्वारेन्टिनमा बसेको अवस्थामा आत्महत्या गर्नेको संख्या ११ छ । पूर्व प्रहरी प्रवक्ता हाल एआईजी निरजबहादुर शाहीका भनाइमा, ‘आत्महत्या गर्नेमा एक महिला र १० पुरुष छन् । कोरोना परीक्षणमा तीन जनाबाहेक सबैको पोजेटिभ देखिएको थियो ।’
मनोसामाजिक अभियन्ता जगन्नाथ लामिछाने भन्छन्, ‘सामाजिक मूल्य र प्रतिष्ठा सकियो भन्ने ठानेर मानिसले आफैंलाई समाप्त गरेको हो यो । हुन पनि ऋण लिएर विदेश गएको मानिस रोग बोकेर फर्किएँ भन्ने भएपछि जुनसुकै निर्णयमा पनि पुग्छ । चिकित्सकीय उपचारबाट मात्रै यसको समाधान हुन्न ।’
कोरोना कहरका कारण आफूले गर्दै आएको कामबाट हात धुनु परेपछि अछामको बयलपाटा अस्पतालका एकजना सफाइ कर्मचारीले आत्मदाह गरेका थिए । कोरोना संक्रमण फैलिएपछि अस्पताल प्रशासनले त्यहाँ कार्यरत ३२ सफाइ कर्मचारीलाई सेवाबाट हटाएको थियो । अकस्मात् जागिरबाट निकालिएपछि ती कर्मचारीले २३ जेठ २०७७ मा आफ्नो जीउमा पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेका थिए । अस्पतालका सामुदायिक स्वास्थ्य सेवा निर्देशक डा. विकास गौचनका भनाइमा महामारीपछि दाताले खर्च कटौती गरेपछि कर्मचारी हटाइएको थियो ।
क्वारेन्टाइनको अवस्था
अब नेपालका क्वारेन्टिनहरूको अवस्था कस्तो छ भनेर हेरौं । नेपाल सरकारले तयार गरेको ‘कोरोनाभाइरससम्बन्धी क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६’ अनुसार क्वारेन्टिनमा सफा र सुरक्षित शयन कक्ष, एक ओछ्यान र अर्को ओछ्यानबीचमा निश्चित दूरी, प्राथमिक उपचार सामग्रीको व्यवस्था हुनुपर्छ ।

निर्देशिकाअनुसार त्यस बाहेक ‘कम्तीमा तीन जना सरसफाइ कर्मचारी, डस्टबिन र पर्याप्त मास्कको व्यवस्था, तोकिएको मापदण्डअनुसार फोहोर व्यवस्थापन, छुट्टाछुट्टै साबुन र स्यानिटाइजर हुनुपर्ने’ उल्लेख छ । त्यसैगरी ‘क्वारेन्टिनमा बस्नेहरूको कम्तीमा दिनको दुई पटक स्वास्थ्य परीक्षण हुनुपर्ने र त्यहाँ व्यायाम तथा मनोपरामर्शसम्बन्धी क्रियाकलाप नियमित हुनुपर्ने’ उल्लेख छ ।
त्यसैगरी ‘क्वारेन्टिनमा बस्नेहरूको कम्तीमा दिनको दुई पटक स्वास्थ्य परीक्षण हुनुपर्ने र त्यहाँ व्यायाम तथा मनोपरामर्शसम्बन्धी क्रियाकलाप नियमित हुनुपर्ने’ उल्लेख छ ।
तर, मुलुकका केही बाहेक सबैजसो क्वारेन्टिनमा यो सुविधा छैन । बझाङको छविस पाथीभेरा गाउँपालिका ७ मझखोरी माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा आफूसँगै बसेको साथीले आत्महत्या गरिसकेपछि बेचैन भएका जनक र उमेश बोहराले कसैको साथ पाएनन् । के गरौं के गरौं भएको अवस्थामा उनीहरूले स्थानीय धामी बोलाएर दुई पटक झारफुक गर्न लगाएका थिए ।
बाजुरा अस्पतालका प्रमुख डा. रूपचन्द्र विश्वकर्मा सुदूरपश्चिम प्रदेशका क्वारेन्टिनहरूमा न्यूनतम मापदण्डबमोजिमको सुविधा नभएको बताउँछन् । उनले भने, ‘मानिसको चाप धेरै बढ्यो, स्थानीय तहहरूले यसको व्यवस्थापन गर्न नै सकेनन् ।’
तर, यो सुदूरपश्चिम प्रदेशको मात्रै समस्या होइन । राष्ट्रिय मानवअधिकार आयोगले २०७६ चैतदेखि २०७७ जेठसम्म क्वारेन्टिनहरूको अनुगमनपछि प्रतिवेदन नै प्रकाशित गरेको छ । प्रतिवेदनमा भनिएको छ, ‘विश्व स्वास्थ्य संगठनको क्वारेन्टिन व्यवस्थापन मापदण्डअनुसार क्वारेन्टिनमा उपयुक्त र पर्याप्त खाना, पानी र सरसफाइको प्रबन्ध हुनुपर्ने, संक्रमण रोकथाम तथा नियन्त्रणका न्यूनतम् उपायहरूको कार्यान्वयन गर्नुपर्ने, त्यहाँ रहेका व्यक्तिहरूलाई सम्भव भएसम्म पर्याप्त हावा ओहोरदोहोर हुनसक्ने खालको एकल कोठा उपलब्ध गराउनुपर्नेमा त्यस्तो नभएको भेटियो ।’
देशभरि सबैजसो स्कुल र स्थानीय सामुदायिक भवनलाई क्वारेन्टिन बनाइएको थियो । ती भवनहरू मानिस रात बस्ने गरी बनाइएका संरचना नै होइनन् । अझ कतिपय ठाउँमा त खेतमा पाल टाँगेर, तराई‑मधेशमा रूखमुनि समेत क्वारेन्टिन बनाइएको थियो । सुर्खेतको एउटा क्वारेन्टिनमा बसेकी एक जना महिलाले ‘पढ्ने प्रयोजनका लागि बनाइएका डेस्क वा बेन्च जोडेर सुत्नुपरेको, फोन चार्ज गर्नसमेत विद्युतको सुविधा नपाएको र खानेकुरादेखि सुत्ने कपडासम्मको अभाव भोगेको’ सुनाएकी थिइन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सह‑प्रवक्ता डा. दिव्या दवाडी स्कुल भवनको संरचना नै क्वारेन्टिन बनाउन उपयुक्त नभएकाले बलात्कार, चोरी, आत्महत्या जस्ता घटना भएको बताउँछिन् । दवाडी भन्छिन्, ‘स्कुल भवन दिउँसोको समयमा पढ्ने/पढाउने कामका लागि बनाइएको हो । क्वारेन्टिन बनाउन होइन ।’ डा. दवाडीको भनाइमा स्कुल भवनलाई क्वारेन्टिन बनाइएका कारण पनि महिला र बालबालिका असुरक्षित भएका हुन् ।
कतिपय भुक्तभोगीहरूका भनाइमा संरचना मात्रै अव्यवस्थित होइन, व्यवस्थापनमा खटिएका व्यक्तिको व्यवहार पनि मानवीय थिएन । त्यसले क्वारेन्टिनमा बस्नेहरूलाई थप बेचैन बनाउँथ्यो । केही माग्यो भने ‘खान बस्न पाएकै छौ कति किचकिच गरेको’ भनेर खप्की खानुपर्थ्यो ।
त्यहाँ नियमित स्वास्थ्य जाँचको व्यवस्था थिएन । क्वारेन्टिन बसेर बाहिरिएकी झापाकी एक महिलाको भनाइमा कुनै लक्षण नहुँदा पनि क्वारेन्टिनमा राखिएको भनेर उनको मनमा नराम्रो सोचमात्रै पलाउँथ्यो । ‘मरे पनि क्वारेन्टाइनमै मरोस्’ भनेर राखेका होलान् भन्ने लाग्थ्यो उनलाई ।
विशेषज्ञका अनुसार क्वारेन्टिनमा बसेका वेला अरू वेलाभन्दा भिन्नै सोचाइ आउँछ । घाँटी खसखस गर्यो वा सामान्य रुघाखोकी लाग्यो भने पनि ‘लौ मलाई त कोरोना नै भयो कि के हो’ भन्ने सोच आउँछ । त्यसमाथि लकडाउनका कारण रोजगारी गुम्दा अब के खाने के खुवाउने भन्ने सोचेर पनि धेरै तनावमा हुन्छन् । उनीहरूमध्ये केही त आत्महत्या गर्ने तहसम्म पुग्छन् । मनोविद् डा. नरेन्द्रसिंह ठगुन्ना भन्छन्, ‘आत्महत्या गर्नेहरूको आर्थिक, पारिवारिक पृष्ठभूमि र अवस्था नियाल्ने हो भने यो स्पष्ट हुन्छ ।’
महिलाका लागि क्वारेन्टिनको बसाइ झनै पीडादायी छ । यौन हिंसामा पर्ने डर, महिनाबारी हुँदा के गर्ने, कसरी बस्ने भन्ने चिन्ता । पोखरामा एकजना गर्भवती महिला यति तनावमा थिइन् कि केही दिनदेखि उनलाई आफ्नो पेटको बच्चा नचलेको अनुभूति हुनथाल्यो । उनले भनिन्, ‘डाक्टरको सल्लाहपछि बल्ल ठीक भयो ।’
साना बच्चाहरूसँग क्वारेन्टिनमा बसेका आमाका समस्या अर्कै थिए । केटाकेटीले छिनछिनमा खाना माग्ने । दिने केही नहुने । साँझ-बिहान बाहेक अरू वेलामा खानेकुरा नपाइने । पैसा दिएर किन्न पठाऊँ भने ल्याइदिने मान्छे नहुने । झापाको एउटा क्वारेन्टिनमा बसेकी एक महिला भन्छिन्, ‘किनेर खाजा खान पैसा दिन खोज्दा पैसाबाट पनि कोरोना सर्छ भनेर कसैले पनि पैसा छुन मानेनन् ।’
समयमा स्वास्थ्य परीक्षण रिपोर्ट नआएको भनेर केही क्वारेन्टिन बसेकाहरूले आन्दोलनसमेत गरे । क्वारेन्टिनबाट भागेका केहीलाई प्रहरी परिचालन गरेर पक्राउसमेत गरिएको थियो । बाँकेको नरैनापुर, दैलेखको नारायण क्याम्पस अनि दैलेखकै नौमुले गाउँपालिकाको भैरव मावि क्वारेन्टिनबाट कोरोना संक्रमित भागेपछि प्रहरी परिचालन गरेर पक्राउ गरिएको थियो । ३० जेठमा रौतहट राजापुरमा ‘पीसीआर रिपोर्ट ढिलो आएको’ भनेर क्वारेन्टिनमा बसेका केही व्यक्तिले सडक अवरुद्ध गरेका थिए । सडक खुलाउन खोज्दा तीन प्रहरी घाइते समेत भएका थिए ।
समयमा स्वास्थ्य परीक्षण रिपोर्ट नआएको भनेर केही क्वारेन्टिन बसेकाहरूले आन्दोलनसमेत गरे । क्वारेन्टिनबाट भागेका केहीलाई प्रहरी परिचालन गरेर पक्राउसमेत गरिएको थियो ।
ठूल्ठूलो संख्यामा मानिस राख्नुपर्ने बाध्यताले क्वारेन्टिनहरू अव्यवस्थित भएको देखिन्छ । सुर्खेतको सिम्टा गाउँपालिकाले भोगेको असजिलो यसको एउटा उदाहरण हो । अध्यक्ष कविन्द्र केसी भन्छन्, ‘सिम्टा गाउँपालिकाका ४८ वटा क्वारेन्टिन र एउटा आइसोलेशनमा २० जेठ २०७७ मा करीब २७०० मानिस थिए ।’ अध्यक्ष केसी भन्छन्, ‘यति हुँदा पनि हामीले हार खाएनौं ।’
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन सेवा केन्द्रका अनुसार जेठ मसान्तसम्म एक लाख ३८ हजार व्यक्ति क्वारेन्टिनमा बसेका थिए । त्यसपछि यो संख्या क्रमशः घट्दै गएको छ । यीमध्ये ३३ हजार ७३७ महिला र चार हजार ६७७ बालबालिका थिए । यो अवधिमा २६७ गर्भवती महिला क्वारेन्टिनमा बसेका थिए । जेठ मसान्तसम्म मुलुकभर सात हजार ११० क्वारेन्टिन सञ्चालनमा थिए ।
आत्महत्या रोकथामसम्बन्धी काम गर्ने संस्था ‘द स्कुल अफ साइकोलोजी’ नेपालका अध्यक्ष समेत रहेका मनोविद् डा. नरेन्द्रसिंह ठगुन्ना लकडाउन यताका तीन महिनामा आत्महत्या गर्नेको संख्या अघिल्लो वर्षको तुलनामा सामान्य रूपमा बढेको बताउँछन् । उनका भनाइमा, पछिल्ला वर्षहरूमा आत्महत्या गर्ने दर १० प्रतिशतले बढिरहेको छ ।
नेपाल प्रहरीको तथ्यांक अनुसार, ११ चैत २०७६ देखि २० असार २०७७ सम्ममा नेपालभर आत्महत्या गर्नेको संख्या १८०० पुगेको छ । यसमा महिलाको संख्या ६४९ र बालबालिकाको संख्या १९७ छ ।
मनोपरामर्श जरूरी
जतिसुकै थकान, तनाव, चिन्ता र रिसमा भए पनि राम्रो मनोपरामर्श सेवा भयो भने मानिस सामान्य अवस्थामा फर्कन्छ भन्ने सुर्खेतको एउटा उदाहरण छ । २०७७ जेठ दोस्रो साता छोरीको उपचार गरेर भारतको मुम्बईबाट फर्केकी सुर्खेत चौकुनेकी अनिता घर पुग्न नपाउँदै क्वारेन्टिनमा बस्नुपर्यो । ११ वर्षकी बिरामी छोरी र अरू दुई जना स्थानीय युवासँगै उनी स्थानीय क्वारेन्टिनमा बसिन् । गाउँसम्म आइपुगेर पनि घर पुग्न नपाएको र छोरा भेट्न नपाएकोमा उनी उकुसमुकुस थिइन् ।
क्वारेन्टिनमा अनिताले ठूलो सकस व्यहोरिन् । स्कुल भवनको कोठा हावा नआउने । दिउँसो बाहिर बसेर दिन बिताउनुपथ्र्यो । ट्वाइलेट टाढा थियो । राति ट्वाइलेट जान निस्किंदा केही हुने हो कि भन्ने चिन्ताले पिरोल्थ्यो । साथमा सानी छोरी थिइन् । कुराकानी गर्न, सान्त्वना दिन अरू कोही आउँदैनथ्यो । आएका मानिस पनि टाढाबाट हेरेर, छोटो कुरा गरेर छिट्टै फर्किन्थे । नरमाइलो लाग्थ्यो ।
कोरोनाका कारण देश–विदेशमा मानिस मरेको समाचार आउँथ्यो । मनमा अनेक कुरा खेल्थे । ‘बाँचेर पो के होला र खै’ भन्ने सोचाइ आउँथ्यो । त्यहीवेला छोरीलाई कोरोना पोजेटिभ देखियो । केही दिनमै अनिताको पनि पोजेटिभ रिपोर्ट आयो । अब दुवै जनालाई आइसोलेशन सेन्टरमा सारियो । अनिता झन् तनावमा परिन् । ‘बाँचेर काम छैन’ भन्ने उनको सोचाइ झन् झन् बलियो हुँदै गयो ।
अनिताले सँगै रहेका साथीहरूसँग आफ्नो मन खोलिन् । साथीहरूले ‘मन बलियो बनाउनुपर्छ, धेरै मानिस निको भएर घर गएका छन्’ भने । तत्कालै मनोपरामर्शकर्ता शर्मिला बिसीलाई अनिताको समस्या जानकारी गराइयो । शर्मिलाले पनि तत्कालै फोन मार्फत अनितालाई ‘काउन्सिलिङ’ गर्न शुरू गरिन् ।
अनिता भन्छिन्, ‘शर्मिला म्याडमले फोनमा लामो कुरा गरेर हौसला दिनुभयो । आइसोलेशनमा अरू पनि मानिसहरू थपिंदै गए । घरपरिवार दुःखसुखका कुरा गर्दै समय बित्दै गयो । ३५ दिन बसेर म कोरोना जितेर घर फर्किएँ ।’ अहिले अनिता संक्रमितहरूलाई हौसला र प्रेरणा दिन थालेकी छिन् ।
नेपालगञ्जका मनोपरामर्शकर्ता भोजराज शर्मा भन्छन्, ‘काउन्सिलिङ र योगले मनमा स्फूर्ति ल्याउँछ । त्यसैले क्वारेन्टिन र आइसोलेशनमा बस्नेहरूको तनाव कम गर्न यो अति आवश्यक पर्छ ।’
शर्माका भनाइमा, तनाव व्यवस्थापन गर्न त्यस बाहेकका उपायहरू पनि छन् । जस्तो कि सामाजिक सञ्जालमा आएका अपूर्ण, अविश्वसनीय र गलत समाचारहरू हेर्न र सुन्न बन्द गर्ने । शारीरिक व्यायाम तथा ध्यान गर्ने, पर्याप्त मात्रामा सुत्ने, साथीभाइ तथा आफ्नो नजिकको मान्छेलाई फोन गरेर कुराकानी गर्ने । उनी भन्छन्, ‘यति गरियो भने पनि मनमा धेरै शान्ति आउँछ ।’
नेपालगञ्जका मनोपरामर्शकर्ता भोजराज शर्मा भन्छन्, ‘काउन्सिलिङ र योगले मनमा स्फूर्ति ल्याउँछ । त्यसैले क्वारेन्टिन र आइसोलेशनमा बस्नेहरूको तनाव कम गर्न यो अति आवश्यक पर्छ ।’
मनोचिकित्सकहरूका अनुसार, कोरोना त्रासका असर पनि उमेर समूह अनुसार फरक फरक हुने गरेको छ । जस्तो कि अहिले बालबालिकामा निद्रा नलाग्ने र अरू उमेरजन्य गतिविधि नगर्ने समस्याहरू देखिन थालेका छन् । ‘हेर्दा बालबालिकामा पेट दुख्ने समस्या देखिने तर त्यो मानसिक स्वास्थ्य समस्या हुने गरेको’ चिकित्सकहरूको भनाइ छ । मनोचिकित्सक डा.पवन शर्माका अनुसार चाहिं, लकडाउनको अवधिमा बालबालिकामा एञ्जाइटी (मनोत्रास), कन्भर्जन डिस्अर्डर र एडजस्टमेन्ट डिस्अर्डर जस्ता समस्या देखिन थालेका छन् ।
उनी भन्छन्, ‘लकडाउन यता मानसिक स्वास्थ्य समस्या बढेको छ । आर्थिक संकटले मानिसलाई तनाव निम्त्याएको छ । प्रहरीका अनुसार, लकडाउनका तीन महिनामा आत्महत्या गर्नेको संख्या १८०० बढी भयो । यो ज्यादै गम्भीर अवस्था हो ।’
यो अवस्था आउनुमा लकडाउनको पनि ठूलो भूमिका देखिन्छ । किनकि यसअघि सरकारी तथा निजी संस्थाहरूले मनोपरामर्श दिने र मानसिक स्वास्थ्य उपचार गर्न ‘स्याटेलाइट क्लिनिक’ हरू सञ्चालन गर्दै आएका थिए । लकडाउनका कारण यस्ता क्लिनिकहरू बन्द भए ।
त्यसैगरी मानसिक स्वास्थ्यमा समस्या भएका व्यक्तिका लागि गाउँ र नगरपालिकाहरूमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र मार्फत उपलब्ध हुँदै आएको औषधि लकडाउनका कारण उपलब्ध हुन नसकेपछि पनि समस्या थपिएको छ । मुलुकका थोरै गाउँ र नगरपालिकाले मात्रै यो संकटमा पनि दीर्घ रोगीहरूका लागि घरघरमै औषधि पु¥याउने काम गरेका थिए ।
मानवशास्त्री सुरेश ढकाल यसलाई ‘सेवा, सुविधा र सुरक्षा दिने काममा राज्य असफल भएपछिको परिणाम’ भन्छन् । ‘हामीसँग भएका पुराना सामाजिक र सांस्कृतिक सुरक्षाका संरचनाहरू भत्किसकेका छन्’ ढकाल भन्छन्, ‘यस्तो अवस्थामा राज्यबाट पनि सहयोग नपाउने भएपछि जसलाई सामाजिक सुरक्षा चाहिन्थ्यो, उनीहरूमा मनोसामाजिक समस्या बढ्दै गएको हो ।’
तर मनोविद् डा. ठगुन्ना कारणहरू जे‑सुकै भए पनि आत्महत्याका घटना कम गर्न तत्काल मानसिक स्वास्थ्य साक्षरताको अभियान शुरू गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘सामुदायिक स्तरमा मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्छ । भएका मानसिक स्वास्थ्य सम्बन्धी सेवालाई प्रभावकारी बनाउनुपर्छ र थप हेल्पलाइन सेवाहरू प्रभावकारी नबनाई हुँदैन ।’
सरकारी प्रयास बाहेक आफ्नो परिवार सुरक्षित राख्न परिवारका सदस्यहरूको भूमिका पनि महत्वपूर्ण रहन्छ । परिवारका सदस्य बीचमा कुराकानी गरिरहने, कुनै सदस्यले अस्वाभाविक बानी‑व्यवहार देखाउन थालेमा त्यसको पहिचान गरेर निराकरण गर्ने, आत्महत्या गर्ने व्यक्तिले आफू मर्दैछु भनेर संकेत गर्ने भएकाले त्यो थाहा पाउनासाथ रोक्ने उपाय अपनाउनुपर्ने विज्ञहरूको भनाइ छ ।
डा. ठगुन्ना भन्छन्, ‘क्वारेन्टिनमा भएका आत्महत्याका घटना नियाल्दा सरकारले वैदेशिक रोजगारबाट फर्केर आएकाहरूलाई लक्षित गरेर स्वरोजगार र सीप प्रवद्र्धनका कार्यक्रमहरू ल्याउन सक्ने हो भने आत्महत्या र मनोसामाजिक समस्या धेरै हदसम्म कम गर्न सकिन्छ ।’
‘क्वारेन्टिन जेल होइन’

कोरोनासँग कोही मान्छे कत्ति पनि डराएका छैनन्, कोही बेस्सरी डराएका छन् । यो सचेतनाको कमीले गर्दा भएको हो । किनकि सबै मान्छेको एकै किसिमको मनोविज्ञान हुँदैन । कोही प्लेन चढ्दा डराउँछ त, कोही सर्प देखेर डराउँछ । मान्छेको प्रतिरोधी क्षमता फरक हुन्छ ।
सरकारले क्वारेन्टिन निर्देशिकामा पनि क्वारेन्टिनमा बसेकालाई अनिवार्य मनोसामाजिक परामर्श उपलब्ध गराउनुपर्ने भनेको छ । उनीहरूलाई आवश्यक विभिन्न परामर्श दिने भनेको छ । क्वारेन्टिनमा रहेकालाई काउन्सिलिङ चाहिन्छ । अहिले कोभिड‑१९ आएरमात्रै यो चाहिने भनिएको होइन ।
काउन्सिलिङ हाम्रोमा नयाँ कुरा जस्तो भयो । स्कुल‑स्कुलमा, घर‑घरमा र समुदाय‑समुदायमा पनि त काउन्सिलिङ चाहिन्छ । अन्तर्राष्ट्रिय रूपमा त यो सधैं भइरहने कुरा हो । यसको मतलब काउन्सिलिङको विषयमा हामीमा बुझाइमा कमी र अनभिज्ञता देखियो । सर्वसाधारणमा मात्र होइन, नीतिगत तहमा बस्ने मानिसमा पनि यसबारे ज्ञानको कमी छ ।
मनोसामाजिक परामर्श चाहिन्छ भनेर अरूको सैद्धान्तिक पक्ष नक्कल गर्न त सजिलो भयो । तर व्यवहारमा हामी चुक्यौं । क्वारेन्टिनमा बस्नेहरूलाई शुरूमै सामाजिक दूरी र त्यहाँको वस्तुस्थिति बुझाउन सक्नुपर्छ । किनकि त्यहाँ आएको व्यक्तिले आधारभूत सुविधा पनि नहोला भनेर कल्पना गर्न सक्दैन । तर, हाम्रा क्वारेन्टिन त कोभिड‑१९ फैलने स्थान बने । त्यसले मानिसमा क्वारेन्टिनभित्र नै संक्रमणको डर भयो । अनि डराउने, भाग्ने, झगडा गर्ने जस्ता घटना भए ।
घर जान पनि नसक्ने, बाहिर जान पनि नसक्ने र भित्र पनि कोभिडको डर भएपछि मानिसमा तनाव बढ्नु स्वाभाविक हो । एउटा आधारभूत सुविधा सहितको संरचना चाहिनेमा त्यो छैन भनेपछि मान्छेलाई नकारात्मक प्रभाव पर्ने नै भयो । व्यक्तिमा आ–आफ्नो लेभलको साइकोलोजी हुने भएकाले कसैले एउटै कुरालाई सहन सक्छ त कसैले त्यसलाई सहन नसक्ने पनि हुन्छ ।
हामीले के बुझ्नु आवश्यक छ भने क्वारेन्टिन जेल होइन । कम्तीमा त्यहाँ आधारभूत आवश्यकताका सुविधाहरू हुनुपर्छ ।
तसर्थ, आत्महत्या गर्ने अवस्थामा पुग्न मानिसमा धेरै कारण जोडिंदै आइपुग्नुपर्छ । पारिवारिक, सामाजिक, आर्थिक कारण सहित मनोविज्ञानले मानिसलाई डिप्रेसनमा लैजान्छ । पहिलेदेखि नै मनोसामाजिक रोगहरू छ वा रक्सी सेवन गर्ने मान्छे छ र त्यसमा माथि भनिएका कुराहरू थपिंदै गए भने कमजोर मन भएका मान्छे क्वारेन्टिनबाट भाग्ने वा आत्महत्या गर्ने उपायबारे सोच्न थाल्छ ।
हामीले के बुझ्नु आवश्यक छ भने क्वारेन्टिन जेल होइन । कम्तीमा त्यहाँ आधारभूत आवश्यकताका सुविधाहरू हुनुपर्छ । सामाजिक दूरी कायम राख्ने ठाउँ हुनुपर्छ । समयमा सुत्ने, समयमा उठ्ने, उठेपछि व्यायाम र योगहरू गराउने वातावरण हुनुपर्छ । केही न केहीमा ‘इन्गेज’ गराउने वातावरण बनाउनुपर्छ ।
हामीले आफू, आफ्नो परिवार र समाजलाई सुरक्षित बनाउन क्वारेन्टिनमा बस्नु परेको हो भनेर बुझाउनुपर्छ । सबभन्दा ठूलो स्वास्थ्य हो । दुई हप्ता अनुशासित रूपमा बस्यो भने म र मेरो परिवार अनि समाजमा यो रोग फैलन नपाउने रहेछ भन्ने ज्ञान दिनुपर्यो । यति सिकाउन सकियो भने जो कोही मान्छे अनुशासित भइहाल्छ नि !
(वार्तामा आधारित)
खोज पत्रकारिता केन्द्रको सहयोगमा
प्रकाशित समय : १९:४७ बजे



















