लिमीमा दुई करोडको सिंचाई कुलो निर्माण
वि.सं.२०७७ भदौ २६ शुक्रवार २०:२८
shares

हुम्लाको नाम्खा गाउँपालिका ६ लिमीमा सिचाई कुलो निर्माण भएको छ । वर्षको एक पटक मात्र बालीनाली पाक्ने लिमीमा सिंचाईका लागि पौने दुई करोडमा तीन वटा सिंचाई आयोजना निर्माण भएको हो ।
हुम्लाको लिमी गाउँ नेपालको सबभन्दा ठूलो वडा भनेर पनि चिनिन्छ । वर्षौदेखि आकाशेपानी र परम्परागत कुलोबाट सिंचाई गरिरहेका लिमीबासीलाई सिंचाईको अभाव भएपछि नयाँ कुलो निर्माण भएको लिमीको हल्जी गाउँका खेन्राव तामाङले बताए । उनका अनुसार लिमीमा तीनवटा गाउँ छन् । जहाँ एक हजारभन्दा बढी जनसंख्या छ । ‘तील, हल्जी र जाङ गाउँका खेतबारीमा आकाशे पानीकै भर थियो । अब भने नयाँ नहर बन्यो । निकै खुसी भएका छौं ।’
लिमी क्षेत्र समुन्द्री सतहदेखि करिब ४ हजार मिटरको उचाईमा रहेकाले वर्षा याममा बाहेक हिउँदमा खेतीपानी गर्न सकिदैन । चिसो भएपछि लिमीमा हिमाली गहुँ नाफल, उवा, जौ, तोरी, चोइती (स्थानीय गाण्टेमुला), कोइरा (स्थानीय सलगम), केराउ र अन्य केही सागपातहरु उत्पादन हुने गरेको तील गाउँका छवाङ तामाङले बताए ।
वडा नं ६ लिमीका अध्यक्ष पाल्जोर तामाङका अनुसार लिमीमा सम्पन्न भएका तीन वटै सिंचाई आयोजना स्थानीयहरुको मागको आधारमा निर्माण गरिएको हो । उनले भने, ‘लिमीमा सम्पन्न भएका तीनवटा सिंचाई आयोजनाहरुमा घोटान, हल्दिङ र होमजाङ आयोजना हुन् ।’

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना, गाउँपालिका र स्थानीय जनश्रमदान गरी एक करोड ७० लाख ३२ हजार ६४२ रकम खर्च भएको वडाध्यक्ष तामाङले बताए । जसमा स्थानीय र गाउँपालिकाको २५ प्रतिशत रहेको छ भने अरु सबै जलस्रोतले खर्च गरेको उनले बताए ।
तीन गाउँका तीन वटा उपभोक्ता समिति गठन गरेर सञ्चालन भएका यी आयोजनाहरु समयमै सम्पन्न भएका छन् भने यसबाट ३८० रोपनी जग्गामा सिंचाई हुने भएको छ । यसबाट दुई सय घरधुरी लाभान्वित हुने उनले बताए ।

























