गृहपृष्ठ कास्कीमा एक जोडीको शव रुखमा झुण्डिएको फेला पर्यो
कास्कीमा एक जोडीको शव रुखमा झुण्डिएको फेला पर्यो
कास्कीको अन्नपूर्ण गाउँपालिका-७ पानीपोखरी भन्ने स्थानको जंगलमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । उनीहरुको साथमा भएको नागरिकता, पासपोर्ट लगायतका कागजपत्रको आधारमा उनीहरु काभ्रेको बनेपा नगरपालिका-१ का २८ वर्षीया सुदिना कर्माचार्य र ३२ वर्षीय दिवाकर थापा रहेको खुलेको प्रहरीले जनाएको छ ।
घाँस काट्न गएको बेला स्थानीयले रुखमा झुण्डिएको शव देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरी स्रोतका अनुसार शव केही दिन पुरानो देखिन्छ । शवबारे आइतबार राति नै खबर आएपनि सोमबारमात्रै त्यहाँ पुगेर पोखरा ल्याउन सकिएको जिल्ला प्रहरी कास्कीले जनाएको छ । शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू भारत जाने भन्दै घरबाट हिँडेको खुलेको प्रहरीको भनाइ छ । तर, भारत नगई पोखरा आएर कास्कीकै अन्नपूर्ण गाउँपालिका क्षेत्रका होटलमा बसेको खुलेको प्रहरीले जनाएको छ ।
‘असार १४ गतेसम्म उनीहरु बसेको होटल भेटियो । त्यसपछि उनीहरु कहाँ बसे जानकारी छैन,’ अनुसन्धानमा खटिएका प्रहरीले भने, ‘यसको मतलब यो घटना १६, १७ गतेको पनि हुन सक्छ । हामी ठ्याक्कै यति दिन पुरानो शव भन्न सक्दैनौं । तर सडे, गल्न थालेकोमा चाहिँ भेटेको हो ।’ यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय : १४:५७ बजे



















