गृहपृष्ठ महावीर पुन गण्डकी रत्नबाट सम्मानित, अनुसन्धानका लागि गण्डकी प्रदेशले छुट्यायो १० करोड
महावीर पुन गण्डकी रत्नबाट सम्मानित, अनुसन्धानका लागि गण्डकी प्रदेशले छुट्यायो १० करोड
गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो । त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान गरिएको हो ।
उक्त अवसरमा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्वपूर्ण योगदान पुर्याउन सफल भएको भन्दै प्रशंसा गरे । शिक्षण पेसामा आबद्ध हुँदा २०२८ सालतिर पुनसँग चितवनमा भेट भएको स्मरण गर्दै प्रदेश प्रमुख गुरुङले निरन्तरको लगावले पुन यो स्थानमा पुगेको बताए । गण्डकी प्रदेश सरकारले निकै राम्रो कामको थालनी गरेको भन्दै आगामी वर्षमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेको कदमको सम्मान गर्दै पुनलाई गण्डकी रत्न प्रदान गरिएको बताए । मुख्यमन्त्री पोखरेलले राष्ट्रिय अनुसन्धान केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षमा गण्डकी सरकारले १० करोड विनियोजन गरेको जानकारी गराए ।
उनले भने, ‘हामीले महसुस गरेका छौँ, समृद्धिका लागि अनुसन्धानको महत्व कति छ भन्ने छिट्टै कार्यविधि बनाएर कार्यक्रम सञ्चालन गरिने छ ।’
कार्यक्रममा सभामुख नेत्रनाथ अधिकारीले महावीर पुनको सम्मानले गण्डकी प्रदेशको शिर अझै उँचो भएको भनाइ राखे ।
उक्त अवसरमा आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले गण्डकी प्रदेशभित्र जन्मिएर यहाँकै श्रीवृद्धिको लागि योगदान गरेकाहरुबाट नामहरु छनोट गरिएको बताए । छनोट समितिले ३ जनालाई छान्नसक्ने कार्यविधि भए पनि पहिलो पटक भएकाले एक जनालाई मात्र छनोट गरिएको जानकारी उनले दिए ।
गण्डकी प्रदेशका प्रवक्ता तथा भौतिक पूर्वाधार, यातयात व्यवस्था मन्त्री कुमार खड्काको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि तथा सहकारी, उद्योग पर्यटन, वातावरण, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन, भाषा संस्कृति, सार्वजनिक प्रशासनलगायतका क्षेत्रमा योगदान पुर्याएका व्यक्तिमध्येबाट सम्मान गर्नेगरी कार्यविधि बनाइएको छ ।
विभूषण ग्रहणपछि महावीर पुनले आफू अध्ययन अनुसन्धानका लागि पर्याप्त बजेट लगानी गरेका मुलुकहरु समृद्ध भएको उदाहरण पेस गरे । उनले भने, ‘अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको हो, युवाहरु रोजगारी खोज्दै विदेश धाउँदा यहाँको अर्थतन्त्र अस्तव्यस्त भएको छ, अनुसन्धान र विकासका लागि अब ढिला गर्न हुँदैन ।’
अनुसन्धान आफैमा कठिन काम भएको भन्दै उनले १ सय वटा अनुसन्धानमध्ये १०÷१५ वटा मात्र सफल हुने भएकाले शतप्रतिशत नतिजा आउन नसक्ने भनाइ थियो । ‘हाम्रो बजेट सिस्टमले असफल भएको कार्यक्रमलाई रकम दिन नमिल्ने भन्छन्, तर सबै अनुसन्धान सफल नै हुन्छन् भन्ने छैन,’ उनले भने ।
गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयमार्फत् आविष्कार केन्द्र खोलेकामा आफू उत्साही भएको उनले बताए । गण्डकीमा आविष्कार केन्द्रकै खुलेकै कारण आफूले यो सम्मान लिन तयार भएको पनि उनले खुलाए ।
विज्ञान, प्रविधि, सूचना एवं वायरलेस प्रविधिबाट ग्रामीण क्षेत्रमा इन्टरनेट सूचना प्रवाह गर्दै आएका पुन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाँगीमा २०११ सालमा जन्मेका हुन् । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन बायोमेडिकल, कृषि, शिक्षा, ड्रोनलगायत क्षेत्रमा कार्य गर्दै आएका छन् । पुन रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित व्यक्तित्व हुन् ।
प्रकाशित समय : २०:५८ बजे



















