गृहपृष्ठ ‘राष्ट्र बैंकको कमजोरीका कारण मूल्यवृद्धि भयो’
‘राष्ट्र बैंकको कमजोरीका कारण मूल्यवृद्धि भयो’
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय बैंकिङ ब्याजदर वृद्धिको कारण बजारमा मूल्यवृद्धि भएको बताएका छन् ।
आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले राष्ट्र बैंकले बैंकहरूको ब्याजदर नियन्त्रण गर्न नसक्दा अहिलेको अवस्था आएको बताए । पछिल्लो ६ महिनामा मात्रै बैंकको ब्याजदर दोब्बरले बढ्दा व्यवसायीहरू समस्यामा परेको उनकाे धारणा थियाे ।
अध्यक्ष गोल्छाले अहिले सीमित तरलता रहेको अवस्थामा उत्पादन उद्योगमा लगानी लगाउनुपर्ने अवस्था रहेको बताए । बैंकले कर्जा प्रवाहमा कडाइ गर्दा सरकारको राजस्व लक्ष्य प्रभावित हुने उनले बताए । उनले पछिल्लो समय साना र मझौला उद्योगीको स्थिति नाजुक बन्दै गएकाले मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताए ।
अध्यक्ष गोल्छाले उद्योगहरूले बैंकबाट कर्जा नपाउँदा व्यवसाय ठप्प रहेको भन्दै अहिले संकटको समयमा केन्द्रीय बैंकले सबै समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउँछ भन्ने निजी क्षेत्रले अपेक्षा गरेको बताए । उनले बैंकको नाफामा कडाइ गर्नुपर्ने, आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने निर्णय हटाउन माग गरे ।
अध्यक्ष गोल्छाले तरलता अभावको कारण बैंकहरुबाट कर्जा प्रवाह नहुँदा अर्थतन्त्र ठप्प हुने अवस्थामा रहेको बताए । उनले तरलताको चुनौतीका कारण साना व्यवसायी साँच्चै अप्ठ्यारोमा रहेको भन्दै व्यवसायीलाई राहत पुग्ने खालको नीति ल्याउनुपर्ने धारणा राखे ।
गोल्छाले ५५ लाख सेयर लगानीकर्ताले धेरै गुमाइसकेको मौद्रिक नीतिमार्फत सेयर कर्जा धितोको ४/१२ सीमा हटाएर सेयर लगानीकर्तालाई राहत पुग्ने नीति लिनुपर्ने बताए । उनले सरकारले एलसीमा लिएको शतप्रतिशत मार्जिनबाट बैंकहरू मात्र लाभान्वित भएको भन्दै मौद्रिक नीतिमार्फत पुनर्विचार गर्न माग गरे ।
प्रकाशित समय : ०२:१२ बजे



















