गृहपृष्ठ ‘युवाको बुझाईमा संस्कृति-२०२२’ राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा त्रिविकी प्रतिशा प्रथम
‘युवाको बुझाईमा संस्कृति-२०२२’ राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा त्रिविकी प्रतिशा प्रथम
राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता ‘युवाको बुझाईमा संस्कृति-२०२२’ मा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत प्रतिशा जोशी प्रथम भएकी छन् । दया फाउन्डेसन, साउथवेस्टर्न स्टेट कलेज र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ द्वारा संयुक्तरुपमा आयोजित सो कार्यक्रमको विजेतालाई साउथवेस्टर्न स्टेट कलेजमा आयोजित एक कार्यक्रममार्फत घोषणा गरिएको हो ।
जसमा त्रिविकी जोशी प्रथम हुँदा बुढानीलकण्ठ स्कूलमा अध्ययनरत दीक्षा उपाध्याय द्वितीय र सिड्स् फाइनान्सियलस् एकेडेमीमा अध्ययनरत प्रेरणा थापा तृतीय भएका छन् । प्रतियोगितामा ग्रेसी न्यौपाने (नाइटिंगेल इन्टरनेशनल एकेडेमी) र सहारा सुवेदी (साउथवेस्टर्न स्टेट कलेज)ले सान्त्वना स्थान हासिल गरेका छन् ।
साथै प्रतियोगितामा विशेष पुरस्कार अश्विन अधिकारी (साउथवेस्टर्न स्टेट कलेज) र बमबहादर विश्वकर्मा (श्री त्रिनगर मावि धनगढी, कैलाली)ले हासिल गरेका छन् । तीन चरणमा आयोजित सो प्रतियोगितामा मुलुकभरका ४६ विद्यालयका ९४ विद्यार्थीको सहभागिता रहेको थियो । युवाहरूलाई नेपाली संस्कृतिप्रति आकर्षक गर्न सो कार्यक्रम गरिएको हो ।
२०७९ वैशाख ७ गतेबाट सुरु भएको प्रतियोगिता पहिलो र दोस्रो चरण जुम मिटिङबाट भएको थियो भने अन्तिम प्रतियोगिता सहभागीबीच भौतिक उपस्थितिमा भएको थियो । उक्त कार्यक्रममा नेपालका लागि अस्ट्रेलिया र इजिप्टका राजदूत क्रमशः फेलिसिटी भोल्क, नोहा एच एल्गेबाली, डा. पल्वसा हैदर, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिजिई राजेन्द्र धोजू, डिजिएन राजेन्द्र मान शेरचन, दया फाउन्डेसनका अध्यक्ष राजेश बहादूर प्रधान, साउथवेस्टर्न स्टेट कलेजका प्रमुख तथा व्यवस्थापन विज्ञ डा. राजेन्द्र केसीलगायत थिए ।
कार्यक्रमका वक्ताहरूलाई विभिन्न समूहमा विभाजन गरी समूहगत मूल्यांकन गरिएको बताइएको छ ।
समूहगत मूल्यांकन समितिमा नेपालका लागि अस्ट्रेलिया र इजिप्टका राजदूत क्रमशः फेलिसिटी भोल्क, नोहा एच एल्गेबाली, प्रा.डा. श्रीधर गौतम, प्रा.डा. सविना भट्टराई, सम्झना खरेल, डा. पल्वसा हैदर, केशव सिग्देल, हरिकृष्ण लामिछाने, रमा कडेल, दिनेश मानन्धर, त्रिभुवनचन्द्र वाग्ले, अनु श्रेष्ठ, बदनलाल न्याँछ्यो, बादल प्रधान र कपिलदेव रेग्मी रहेका थिए ।
यस्ता रचनात्मक कार्यक्रमलाई क्याम्पसले निरन्तरता दिने प्रतिवद्धता साउथवेस्टर्न स्टेट कलेजका प्रमुख तथा व्यवस्थापन विज्ञ डा. राजेन्द्र केसीले बताए । नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आफू नेपाल आउँदा नेपाली संस्कृति र नेपाली जनतामा रहेको सहिष्णुता देखेर प्रभावित हुने गरेको अनुभव सुनाए ।
यूनेस्कोका नेपालका लागि प्रतिनिधि माइकल क्रफ्टले नेपाल सांस्कृतिक हिसाबले सम्वृद्ध रहेको र युवाहरूले यसको महत्व बुझेमा यसले पर्यटनमार्फत देशलाई नै सम्वृद्धिको पथमा डोर्याउने कुरा उल्लेख गरे । नेपालजस्तो विविध संस्कृतिले सम्पन्न देशका युवाले देश प्रेमका लागि संस्कृतिको संवर्धनमा जुट्नु पर्ने विचार दया फाउन्डेसनका अध्यक्ष राजेशबहादूर प्रधानले व्यक्त गरे ।
उक्त कार्यक्रमले नेपाली युवामा आफ्नो मौलिक संस्कृतिप्रति आकर्षण बढ्ने कुरामा कार्यक्रमका संयोजक सरिता शाक्य प्रधानले विश्वास व्यक्त गरिन् ।
नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका मौलिक संस्कृतिप्रति विद्यार्थीको बुझाइ विस्तार गर्न र संस्कृतिप्रति सकारात्मक सन्देश दिन कार्यक्रम सफल रहेको र कार्यक्रमले विद्यार्थीको बोध तथा अभिव्यक्ति क्षमताको विकासमा टेवा पुर्याउनुको साथै संस्कृति विचलन रोक्न सहायक हुने कुरा कार्यक्रमका संयोजक निभा माथेमा प्रधानले बताइन् ।
प्रकाशित समय : १६:५३ बजे



















