गृहपृष्ठ द्वन्द्वकालीन मानवअधिकार हननका घटनामा आममाफी दिने तयारी
द्वन्द्वकालीन मानवअधिकार हननका घटनामा आममाफी दिने तयारी
१० वर्षे माओवादी द्वन्द्वका क्रममा भएका गम्भीर मानवअधिकार उल्लंघनका घट्नाका दोषीलाई आम माफी दिने तयारी सरकारले गरेको छ । यसै प्रयोजनका लागि सत्य निरुपण तथा मेलमिलापसम्बन्धी ऐन संशोधनको प्रक्रियासमेत कानुन मन्त्रालयले अगाडि बढाएको छ ।
कानूनमन्त्री गोविन्द कोइरालाले सो प्रयोजनका लागि देशभर परामर्श गरिरहेका छन् । पीडित पक्षलाई ठूलो मात्रामा आर्थिक सहयोग गरी मुद्दा अगाडि नबढाउने तयारी भएको स्रोतले बताएको छ । कोइरालालाई सोही प्रयोजनका लागि ६ महिनाको लागि सांसद नभए पनि मन्त्री बनाइएको थियो । यसै प्रयोजनका लागि उनले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका उच्च नेताहरुसँग कुराकानी गरिरहेका छन् ।
२०७२ सालमा नै सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन भए पनि आयोगले अहिलेसम्म खासै केही प्रगति गरेको छैन । २०७२ सालमा नै सर्वाेच्च अदालतले आममाफी दिन नमिल्ने कानून संशोधनको लागि फैसला दिएको छ । तथापि कानून संशोधनको लागि दलहरुले कुनै पनि चासो दिएका छैनन् । तर, पछिल्लोपटक केही महिनामा नै द्वन्द्वकालीन सबै मुद्दा टुंगो लगाउने अभिप्रायले कानून संशोधनको तयारी भइरहेको छ । द्वन्द्वपीडित संस्थाले भने त्यसको विरोध गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय संस्थाले पनि प्रक्रियालाई पारदर्शी बनाउन आग्रह गरिरहेका छन् । पछिल्लोपटक सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद असार मसान्तमा सकिँदैछ । त्यसपछि फेरी म्याद थप्ने कि के गर्ने भन्ने अन्योलता कायमै छ । आयोगमा ६० हजारभन्दा बढी उजुरी परेका छन् ।
प्रकाशित समय : १५:१९ बजे

















