global ime bank Long Banner Ad

गृहपृष्ठ वन्यजन्तु पीडितलाई राहत

वन्यजन्तु पीडितलाई राहत

वन्यजन्तु पीडितलाई राहत

वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति बेहोरेका म्याग्दीका कृषकले चार लाख ६० हजार राहत पाएका छन् । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सो रकम बराबरको राहत वितरण गरेको जनाएको छ ।

निमित्त डिभिजनल वन अधिकृत मनोज रानाभाटले चितुवाको आक्रमणबाट मरेका ५० पशुका धनीलाई राहत उपलब्ध गराइएको जानकारी दिए । 'प्रदेश सरकारको कार्यविधिअनुसार ३७ खसी, बाख्रा र बोका, सात पाठापाठी र ६ बंगुरको राहत वितरण गरेका हौँ', उनले भने, 'तीस कृषकले राहत पाउनुभएको छ ।'

बाख्रा, खसी र बोकाको दश हजार, पाठापाठीको तीन हजार र बंगुरको ६ हजार पाँच सयका दरले राहत वितरण गरिएको हो । चितुवाको आक्रमणबाट सबैभन्दा बढी क्षति बेहोर्ने कृषक मंगला गाउँपालिकाका छन् । वन्यजन्तु पीडित कृषकलाई राहतका अतिरिक्त मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका ब्रोसर वितरणका साथै सचेतनामूलक गोष्ठीसमेत आयोजना गरिएको छ ।

वन्यजन्तुका लागि दश सामुदायिक वनमा पोखरी निर्माण गरिएको सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिए । 'वन्यजन्तु पानी र आहराको खोजीमा मानव बस्तीमा नआउन भनेर जङ्गलमै पोखरी बनाइएको हो', उनले भने, 'वनमै पानी र आहरा पाएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने देखिन्छ ।'

प्रतिपोखरी एक लाखका दरले पोखरी निर्माण गरिएको हो । बेनी नगरपालिका-९ को गलेश्वर ठुलो सल्लेरी र घोर्लास, धौलागिरि-७ को धारापानी, रघुगंगा-२ को कृष्ण तालावन्दी, मंगला-२ को सल्यान सल्लेरी र भदौरेपाखा, रघुगंगा-८ को उत्तिसिने, बेनपा-५ को भेडाखोर, पानी पधेरो देपुर्नेआटी, मंगला-३ र ४ को टाड बिसाउना सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

बेनी-२ खबराको ठुलोगैरा सामुदायिक वनमा जिल्लामै पहिलोपटक औषधीय गुणयुक्त विजयसाल प्रजातिको वनस्पतिको ४० बिरुवा रोपिएको छ । विजयसाल लोपोन्मुख र संरक्षित वनस्पति हो । समुद्री सतहदेखि एक हजार मिटरको उचाइसम्म हुने विजयसालका लागि म्याग्दीको तल्लो क्षेत्रमा उपयुक्त मौसम र वातावरण भएकाले परीक्षण गरिएको वन डिभिजन कार्यालयले जनाएको छ ।

विजयसालको भाडोमा राखेको पानी सेवन गर्नाले पेटसम्बन्धी रोग निको हुने विश्वास गरिन्छ ।

प्रकाशित समय : १४:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु