काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वन्यजन्तु पीडितलाई राहत

14.81K
shares

वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति बेहोरेका म्याग्दीका कृषकले चार लाख ६० हजार राहत पाएका छन् । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सो रकम बराबरको राहत वितरण गरेको जनाएको छ ।

निमित्त डिभिजनल वन अधिकृत मनोज रानाभाटले चितुवाको आक्रमणबाट मरेका ५० पशुका धनीलाई राहत उपलब्ध गराइएको जानकारी दिए । 'प्रदेश सरकारको कार्यविधिअनुसार ३७ खसी, बाख्रा र बोका, सात पाठापाठी र ६ बंगुरको राहत वितरण गरेका हौँ', उनले भने, 'तीस कृषकले राहत पाउनुभएको छ ।'

बाख्रा, खसी र बोकाको दश हजार, पाठापाठीको तीन हजार र बंगुरको ६ हजार पाँच सयका दरले राहत वितरण गरिएको हो । चितुवाको आक्रमणबाट सबैभन्दा बढी क्षति बेहोर्ने कृषक मंगला गाउँपालिकाका छन् । वन्यजन्तु पीडित कृषकलाई राहतका अतिरिक्त मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका ब्रोसर वितरणका साथै सचेतनामूलक गोष्ठीसमेत आयोजना गरिएको छ ।

वन्यजन्तुका लागि दश सामुदायिक वनमा पोखरी निर्माण गरिएको सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिए । 'वन्यजन्तु पानी र आहराको खोजीमा मानव बस्तीमा नआउन भनेर जङ्गलमै पोखरी बनाइएको हो', उनले भने, 'वनमै पानी र आहरा पाएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने देखिन्छ ।'

प्रतिपोखरी एक लाखका दरले पोखरी निर्माण गरिएको हो । बेनी नगरपालिका-९ को गलेश्वर ठुलो सल्लेरी र घोर्लास, धौलागिरि-७ को धारापानी, रघुगंगा-२ को कृष्ण तालावन्दी, मंगला-२ को सल्यान सल्लेरी र भदौरेपाखा, रघुगंगा-८ को उत्तिसिने, बेनपा-५ को भेडाखोर, पानी पधेरो देपुर्नेआटी, मंगला-३ र ४ को टाड बिसाउना सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

बेनी-२ खबराको ठुलोगैरा सामुदायिक वनमा जिल्लामै पहिलोपटक औषधीय गुणयुक्त विजयसाल प्रजातिको वनस्पतिको ४० बिरुवा रोपिएको छ । विजयसाल लोपोन्मुख र संरक्षित वनस्पति हो । समुद्री सतहदेखि एक हजार मिटरको उचाइसम्म हुने विजयसालका लागि म्याग्दीको तल्लो क्षेत्रमा उपयुक्त मौसम र वातावरण भएकाले परीक्षण गरिएको वन डिभिजन कार्यालयले जनाएको छ ।

विजयसालको भाडोमा राखेको पानी सेवन गर्नाले पेटसम्बन्धी रोग निको हुने विश्वास गरिन्छ ।