गृहपृष्ठ एउटै पालिकामा २१६ पहिराे
एउटै पालिकामा २१६ पहिराे
म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिराेका कारण बस्ती जोखिममा परेका छन् । स्थानीयवासीले पहिराेका कारण असुरक्षित भएको गुनासो गर्दैआएका छन् । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाका आठ वडामा साना ठूला गरी २१६ पहिराे रहेका र ती पहिराेका कारण बस्ती नै जोखिममा छन् ।
पहिराे रोकथाम तथा नियन्त्रणका लागि पहिराेको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । 'पहिराको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएका छौं,' उनले भने ।
कुइनेमंगले-८ चौरखानी, चिमखोला-७ मालाङ, पाखापानी-६ रायखोर र दग्नाम-४ को पहिरो रोकथामलाई मुख्य प्राथमिकतामा राखिएको भण्डारीको भनाइ छ । यसैगरी रघुघाट गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धुपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बुडिचौरलगायतका बस्ती बाढी र पहिराको उच्च जोखिममा छन् ।
ती बस्तीको संरक्षणका लागि स्थानीय तहले प्राथमिकताका साथ काम गर्ने र थप बजेटका लागि प्रदेश वा संघ सरकारसँग माग गर्ने अध्यक्ष भण्डारीले बताए । गाउँपालिकाले सधैँ आश्वासन मात्रै बाँड्ने तर काम नगर्ने प्रवृत्तिले गर्दा दर्जन बढी बस्ती बाढी र पहिराको उच्च जोखिममा रहेकाे स्थानीयवासी दीपक कार्कीले बताए । उनले भने, 'बर्खा सुरू भएपछि बाढी र पहिरोका कारण सधैँ त्रसित र भयभित रहन्छौँ, राति राम्रोसँग निदाउन सकिँदैन ।'
यसैगरी ५२ घर रहेको रघुगंगा-८ चौरखानीमा ३० परिवारको बसोबास छ । पहिराकै त्रासले आधाले घर छोडेर बेनी, पोखरा, काठमाडाैंलगायत ठाउँमा बसाइँ सरेका छन् । गत वर्ष गाउँको बीचमा ठाडो चिरा परेर गएको पहिरोले चौरखानीमा समुदायिक भवन र एउटा घर भत्केको वडासदस्य यामकुमारी घर्तीले बताए । दुई किलोमिटर तल रघुगंगा नदीको किनारबाट सुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको छ । पहिरोले गाउँलाई चिरेर दुई भागमा विभाजन गरेको स्थानीय रैमान छन्त्यालले जानकारी दिए ।
यस्तै रघुगंगा-३ गलेश्वरको राहुघाट बस्ती पहिरोले पुरिने जोखिममा छ । गलेश्वर-पिप्ले-भगवती-बेगखोला सडक निर्माणमा गरिएको लापर्बाहीले निम्तिएको पहिरोले पुरिने जोखिम बढेको हो । बस्तीमाथिको पाखोमा जथाभावी सडक खनेपछि पहिरो निम्तिएर गलेश्वपारिको ३० घरपरिवार जोखिममा रहेको स्थानीय मिम थकालीले बताए । 'पानी पर्न थालेपछि यहाँका बासिन्दा राति सुत्न सक्दैनन् । विकासका नाममा निम्तिएको विनाशका कारण आफ्नो थातथलो छोड्नुपर्ने अवस्था आएपछि यहाँका बासिन्दा चिन्तित छौँ', उनले भने ।
कमजोर भू-भागमा सडक बनाउन डोजर प्रयोग गरिँदा झन जोखिम बनेको छ । जथाभावी भत्काउँदा त्यसपछि संरक्षणका लागि पर्खाल र नाली समयमै नबनाउँदा पूरै पाखो खस्ने अवस्थामा छ । वर्षौंदेखि बसेको घर छाडेर हिँड्नुपर्ने अवस्था छ । यहाँका कतिपय बासिन्दा घर छोडेर गलेश्वर बजारमा भाडामा बस्न थालेका स्थानीयवासी तिलबहादुर पुनले बताए । दुई वर्ष अघिदेखि बस्तीमाथिको जमिन चर्किएर पहिरो खस्न थालेको होे ।
हिउँदमा कुनै निकायले पनि संरक्षणको पहल नगर्दाको परिणाम यस पटकको बर्खामा देखिन थालेको भन्दै स्थानीयवासी आक्रोशित छन् । सम्बन्धित निकायबाट पहिरो नियन्त्रण, बाढी व्यवस्थापन र बस्ती संरक्षणको काम हुन नसक्दा बस्ती जोखिममा छन् । यसैगरी रघुगंगा गाउँपालिका-३ पिप्ले गलेश्वरका २१ घर जोखिममा परेका छन् । भिरालो पाखोमा सडक खनेपछि पहिरो जाँदा ती घर जोखिममा परेका हुन् । गलेश्वर-भगवती-बेग सडक कालोपत्र गर्ने क्रममा भिरालो पाखोमा सडक खनिएको थियो ।
दुई किलोमिटर सडक खनिएको सतीपहरादेखि च्युडीस्वारासम्मको क्षेत्रमा भूक्षय हुन थालेपछि बस्ती जोखिममा परेको छन् । चुडीस्वाँरामा दुई वर्षअघिसम्म गाडी गुड्ने सडक थियो । अहिले त्यसको नामोनिसान देखिन्न । निर्माणको दुई वर्षसम्म पनि नियामक पूर्वाधार विकास कार्यालय र ठेकेदार कम्पनीले पहिरो रोकथाममा कुनै काम नगर्दा असुरक्षा बढेको स्थानीयले बताएका छन् ।
प्रकाशित समय : १३:१३ बजे


















