गृहपृष्ठ पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल
पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल
पोखरामा पहिलो पटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार ५० वर्षीया महिलाको मिर्गौला ट्रान्सप्लान्ट गरिएको हो ।
प्रतिष्ठानका निर्देशक भरत खत्रीले करिब एक वर्षअघिदेखि तयारी थालिएको बताए । ‘गतसालको असारदेखि प्रयास गरेका थियौं । अहिले सफल भयौँ,’ उनले भने, ‘अब नियमित रुपमा ट्रान्सप्लान्ट गर्न सक्छौँ ।’ ती महिला पाँच वर्षदखि मिर्गौला पीडित थिइन् ।
प्रतिष्ठानबाट दैनिक ३० जनाको डायलोसिस् हुँदै आएको छ । ती महिलालाई उनकै ५१ वर्षीय श्रीमानले मिर्गौला दिएका हुन् । काठमाडौँबाट आएका डा.पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा.प्रकाश क्षेत्री, डा.अनुप चापागाई, डा.माया लामा, डा.जुजु श्रेष्ठ, डा.अमृत केसीलगायतका मेडिकल टिमले प्रत्यारोपण गरेको हो ।
प्रकाशित समय : ०३:२३ बजे


















