nmb bank

गृहपृष्ठ नेपालले कुवेतलाई दियो १०८ रनको लक्ष्य

नेपालले कुवेतलाई दियो १०८ रनको लक्ष्य

नेपालले कुवेतलाई दियो १०८ रनको लक्ष्य

कप्तान रुविना क्षेत्री र उपकप्तान इन्दु बर्माको अर्धशतकीय साझेदारीमा नेपालले एसीसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा कुवेतलाई जितको लागि १०८ रनको लक्ष्य दिएको छ ।

मलेसियाको राजधानी क्वालालाम्पुरस्थित किनरारा एकेडेमी ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १०७ रन बनायो । नेपालका लागि कप्तान रुविनाले सर्वाधिक ३४ रन जोड्दै अविजित रहिन् । उनले २७ बलमा ४ चौका प्रहार गरिन् । यस्तै, इन्दु ३३ बलमा २ चौकासहित २८ रनमा अविजित रहिन् ।

उनीहरुले पाँचौं विकेटका लागि ६० रनको साझेदारी गरेका थिए । नेपालकी ओपनर ज्योति पाण्डेले २१ बलमा १ चौकासहित १५ रन बनाइन् । यता, बिन्दु रावलले ११, सीता रानामगरले ५ र काजल श्रेष्ठले ५ रन बनाइन् । कुवेतकी मरिम्मा हैदरले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । मर्याम ओमर र खदिजा खालिलको नाममा १/१ विकेट रह्यो ।

नेपालले शुक्रबार भएको पहिलो खेलमा भुटानलाई ५० रनले हराउँदै विजयी सुरुवात गरेको थियो । प्रतियोगितामा नेपालसँगै १० वटा राष्ट्रको सहभागिता रहेको छ । यी १० वटा टोलीलाई २ समूहमा विभाजन गरिएको छ । भुटान, हङकङ, कुवेत र बहराइनसहित प्रतियोगितामा नेपाल समूह ‘बी’मा रहेको छ । यस्तै समूह ‘ए’मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन् ।

समूह चरणको खेलमा शीर्ष दुई टोलीले सेमिफाइनलकाे यात्रा तय गर्नेछन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा स्थान पक्का गर्नेछ ।

नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।

प्रकाशित समय : २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु