गृहपृष्ठ सेयर बजारमा २९ अंकको गिरावट
सेयर बजारमा २९ अंकको गिरावट
आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दाेहाेराे अंककाे गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेको नेप्से परिसूचक डेढ घण्टाको समयमै ५० अंकले ओरालो लागेको थियो । तर, पछि केही सुधारिँदै अन्तिम समयसम्ममा २९.८९ अंकले घटेर बन्द भएको हो ।
यससँगै नेप्से परिसूचक घटेर १९६६.३७ अंकमा आइपुगेको छ । यसैगरी, आज १ अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको ४१ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा कारोबार भएका सबै समूह उच्च अंकले घटेका छन् । जीवन बिमा समूहमा सबैभन्दा धेरै १८९ अंकको गिरावट आउँदा निर्जीवन बिमा समूह १३४ अंकले खुम्चिएको छ । यसैगरी, उत्पादनमूलक समूहमा ७७ अंकको गिरावट आएको छ भने लघुवित्त समूहमा ६६ अंकको गिरावट आएको छ । यसैगरी, विकास बैंक समूह ५३ अंकले घटेको छ ।
नेप्से परिसूचक दोहोरो अंकले घटे पनि सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतले बढेको छ । यी दुई कम्पनीका सेयर लगानीकर्ताबाहेक अन्य कम्पनीका लगानीकर्ताले प्रशस्त आम्दानी गर्न सकेनन् । यसैगरी, आज नेपाल टेलिकमको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज कम्पनीको १२ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
प्रकाशित समय : २१:१६ बजे



















