गृहपृष्ठ खेलकुदमन्त्री गहतराजको नेतृत्वमा बक्सिङ टोली रुस प्रस्थान
खेलकुदमन्त्री गहतराजको नेतृत्वमा बक्सिङ टोली रुस प्रस्थान
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ संघका पदाधिकारीसहित आठ सदस्यीय टोली आज रुस प्रस्थान गरेको छ ।
बक्सिङ फेडरेसन अफ रसिया र रसिया फेडरेसनको खेलकुद मन्त्रीको निमन्त्रणामा मन्त्री गहतराजको नेतृत्वमा नेपाली टोली रुस प्रस्थान गरेको हो ।
टोलीमा मन्त्रालयका सचिव दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का विभागिय प्रमुख मधुसुदन बस्नेत, खेलकुद मन्त्रीको निजी सचिव रोशनकुमार सुनार, बक्सिङ संघको तर्फबाट संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुनबहादुर केसी, संघका सदस्य मानबहादुर भण्डारी र प्रवक्ता एवं अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक श्यामकाजी अवाले छन् ।
रुस भ्रमणको क्रममा दुवै देशको खेलकुद विकास र प्रवर्धनमा सहकार्य गर्न विभिन्न विषयहरुमा छलफल हुने बताइएको छ ।
त्यसैगरी, नेपाल र रुसका बक्सिङ खेलाडीहरुको प्रशिक्षण आदान–प्रदान, बक्सिङ प्रशिक्षकहरुको क्षमता विकास र वृद्धिमा सहयोग गर्ने, नेपाल रुसबीच मैत्रीपूर्ण बक्सिङ एवं अन्य खेलकुद प्रतियोगिता आयोजना एवं सहभागिता गराउने, रुसको स्पोर्ट्स साइन्स कलेजमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति व्यवस्था गर्नेलगायतको विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित समय : १८:२८ बजे


















