प्रदेश सभा सदस्य कादरीद्वारा कम्प्युटर सहयोग
वि.सं.२०७९ जेठ ३० सोमवार १८:१३
shares

मधेस प्रदेशका प्रदेश सभा सदस्य पश्मिना कादरीले पर्साको वीरगञ्जस्थित नापी कार्यालयलाई आवश्यक कम्प्युटर र प्रिन्टर उपलब्ध गराएकी छन् ।
सो कार्यालयबाट प्रवाह हुने सेवा सुविधालाई थप प्रभावकारी बनाउन उनले व्यक्तिगत खर्चबाट करिब तीन लाख २० हजार १२९ बराबरको चार थान कम्प्युटर र एक लाख ६९ हजार ५०० बराबरको दुई थान प्रिन्टर उपलब्ध गराएकी हुन् ।
उनी नेकपा (माओवादी केन्द्र)को समानुपातिकतर्फ प्रदेशसभा सदस्य हुन् । नापी कार्यालयका प्रमुख नारायण कुमार श्रेष्ठले उपलब्ध सामग्रीबाट सेवा प्रवाहमा सहज हुने जानकारी दिए ।
कार्यालयको आवश्यक कागजातको कम्प्युटर प्रणालीमा अभिलेखीकरण नहुँदा सेवा प्रवाहमा ढिलाइ हुँदै आएको थियो । अब विस्तार सेवा प्रवाह सुधार आउने कार्यालयले जनाएको छ ।
विद्यालय भवन निर्माण सुरु
जिल्लाको बिन्दवासिनी गाउँपालिका–२ स्थित राधाकृष्ण माध्यमिक विद्यालयको चारकोठे भवन निर्माण सुरुवात भएको छ । उक्त भवन निर्माणका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ३६ लाख सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिए ।
भौतिक संरचना कमजोर भएका विद्यालयका भवन निर्माणमा सहयोग गर्दै जाने गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले जानकारी दिए ।























