गृहपृष्ठ मधेशमा भीभीआईपीका लागि साढे तीन करोडको गाडी खरिद प्रक्रिया रोकियो

मधेशमा भीभीआईपीका लागि साढे तीन करोडको गाडी खरिद प्रक्रिया रोकियो

मधेशमा भीभीआईपीका लागि साढे तीन करोडको गाडी खरिद प्रक्रिया रोकियो

जनकपुरधाम । ‘अति विशिष्ट व्यक्ति’ (भीभीआईपी) को प्रयोजनका लागि करिब ३ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको गाडी किन्ने खरीद प्रक्रिया मधेश सरकारका श्रम तथा यातायात मन्त्रालयले स्थगित गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्देशनमा विनियोजित बजेटबमोजिम श्रम तथा यातायात मन्त्रालयले भदौ २४ गते टेण्डर आह्वान गरेको थियो । तर प्रदेश सरकार बजेट घाटामा रहेको बेला साढे तीन करोडको गाडी खरीद विषयमा चौतर्फी आलोचना हुन थालेपछि मन्त्रालयले बोलपत्र प्रक्रिया नै अघि नबढाउने निर्णय गरेको छ ।

बोलपत्र आह्वान भएसँगै आर्थिक दबाबमा रहेको प्रदेश सरकारले एउटै सवारीसाधन खरिदमा करोडौँ रुपैयाँ खर्च गर्न लागेको भन्दै न्यूज कारखानासहित विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन-प्रसारण र सामाजिक सञ्जालमा यसको औचित्यमाथि प्रश्न उठाउन थालेपछि प्रदेश सरकारले खरीद प्रक्रिया नै स्थगित गरेकाे हाे ।

श्रम तथा यातायात मन्त्री शारदादेवी थापाले टेण्डर स्थगित गरिएको बारे जानकारी दिँदै भनिन्- ‘प्रदेश सरकार बजेट घाटासहितको विषम परिस्थितिमा गाडी खरिद गर्न लागेको भन्दै आलोचना भएपछि प्रक्रिया रोक्नुपरेको हो ।’

उनले बोलपत्र आह्वान हुनुअघि आफूलाई खरिदबारे पूर्वजानकारी नभएको दाबी गरेकी छिन् । सवारीसाधन खरिदको औचित्यमाथि प्रश्न उठेपछि मन्त्रालयका सचिवसँग आवश्यक जानकारी लिएर निर्णय भइनसकेको अवस्थामा प्रक्रिया रोकिएको उनको भनाइ छ ।

उनले थप्दै भनिन् ‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनअनुसार भीभीआईपी प्रयोजनका लागि सवारीसाधन खरिद गरिने हो, जानकारी थिए । तर टेण्डर नै आह्वान भइसकेको बारे आफूलाई थाहा भएन । चौतर्फी आलोचना हुन थालेपछि बल्ला थाहा पाएपछि टेण्डर स्थगित गर्न लगाएको हुँ ।’

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा सरकारी खर्च नियन्त्रण गर्ने नीति लिएको छ । सोअन्तर्गत गाडी खरिदलगायत तालिम गोष्ठीसहितका रोक्कासहित ४४ वटा शीर्षकमा बजेट कार्यान्वयनसम्बन्धी निर्देशिकामार्फत अर्थ मन्त्रालयले विभिन्न ४४ शीर्षकमा २० देखि ७५ प्रतिशतसम्म खर्च कटौती गरेको छ ।

निर्देशिकाअनुसार सवारीसाधन तथा मेसिनरी औजार खरिद वा भाडामा लिने खर्चमा शतप्रतिशत रोक लगाइएको छ । भत्ता, सञ्चार शुल्क तथा विशिष्ट व्यक्ति र प्रतिनिधिमण्डलको भ्रमण खर्चमा २० प्रतिशत कटौती गरिएको छ ।

त्यस्तै, तालिम तथा गोष्ठी, सशर्त अनुदान, वन तथा वातावरण संरक्षण र भैपरी आउने खर्चमा ५० प्रतिशत तथा पुँजीगत अनुसन्धान र परामर्श खर्चमा ७५ प्रतिशतसम्म खर्च कटौती गरिएको छ ।

हुनत सवारीसाधन खरिदसम्बन्धी प्रदेशको बजेट खर्च निर्देशिकामा मुख्यमन्त्रीका लागिसमेत करिब डेढ करोड रुपैयाँसम्मको सवारीसाधन खरिद गर्न सकिने व्यवस्था गरिएको छ । तर भीभीआईपी कहिलेकाहीँ आउने भएकाले ती गाडीको प्रयोग के भन्ने प्रश्न उठेको थियो । ती भीभीआईपी नआएको बेला सो गाडीको प्रयोग मुख्यमन्त्रीले नै गर्ने हो भन्ने कुरा बाहिरिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवको भूमिका माथिसमेत प्रश्न उठेको थियो ।

प्रकाशित समय : २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु