गृहपृष्ठ बर्दिया घटना : आदेश बिना प्रहरीले गोली चलायो, कारबाही गर्छौँ– गृहमन्त्री खाण
बर्दिया घटना : आदेश बिना प्रहरीले गोली चलायो, कारबाही गर्छौँ– गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले बर्दियाको मधुवन सोनामा प्रहरीको गोलीबाट मारिएकी नविना चौधरीको घटनाबारे प्रतिनिधिसभा बैठकमा जानकारी गराएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले सीडीओको आदेश बिना प्रहरीले गोली चलाउँदा चौधरीको मृत्यु भएको बताउँदै दोषी प्रहरीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद् बिमला विकले घटनाको बारेमा गृहमन्त्रीको जबाफ मागेपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
‘भीड उत्तेजित भएपछि नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर नविना चौधरीको निधन भएको छ,’ उनले भने,‘प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश नदिएको धरणा छ । नागरिकको यस्तो भीड, आन्दोलनमा गोली चलाउने कुनै आदेश नै छैन । सम्झाइ बुझाइ गर्ने, सर्वपक्षीय वा सर्वदलीय छलफल गरेर कमभन्दा कम शक्ति प्रयोग गर्ने नीति नै छ ।’
उनले दोषीलाई कारबाही गर्नका र घटनाको सत्यतथ्य छानबिनका लागि गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको जानकारी गराए । घिमिरेको नेतृत्वमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका गिरिराज पाण्डेलगायत ५ जनाको छानबिन समिति बनाइएको छ ।
नागरिकलाई गोली हान्न सरकारले आदेश नदिने भन्दै मन्त्री खाणले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए ।
प्रकाशित समय : २०:०३ बजे



















