गृहपृष्ठ घरबाटै फोहोरको वर्गीकरण नगरे फिर्ता पठाइने

घरबाटै फोहोरको वर्गीकरण नगरे फिर्ता पठाइने

घरबाटै फोहोरको वर्गीकरण नगरे फिर्ता पठाइने

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्रोतबाट नै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे संकलन नगरिने बताएका छन् ।  उनले आज फोहर व्यवस्थापनमा सहयोग गर्न नगरवासीका लागि सामाजिक सञ्जालमार्फत् अपिल गर्दै घरबाटै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे पुनः घरमा नै फिर्ता पठाइने जनाए । 

‘अहिले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको विषय जटिल बनेको छ, यसको व्यवस्थापन गर्नु तपाईं र मेरो साझा दायित्व हो,’ उनले नागरिकलाई आग्रह गरेका छन् । उनले कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने र नकुहिने गरेर कम्तीमा दुई किसिमका फोहर छुट्याएर निकालिनुपर्ने बताए ।  

‘उपत्यकाको फोहोर व्यवस्थापनको समाधान अन्त कतै फ्यालेर वा थुपारेर मात्रै हुँदैन, स्रोतबाट नै कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाडौँमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन,’ उनले अपिल गरेका छन् ।    

यसअघि जे जसरी चलेको भए पनि आगामी दिनदेखि हरेक फोहरलाई कुहिने र नकुहिने गरेर कम्तीमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा सहयोग गरी आफ्नो कर्तव्य पूरा गरिदिनेमा आफू ढुक्क रहेको उनले बताए । नागरिकले स्रोतमा नै  छुट्याइसकेको फोहोरलाई कामपाले पुनः एकै ठाउँमा मिसाउने गल्ती नगर्ने पनि उनले अठोट गरे ।  

यसैबीच सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच आजदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सहमति गरेपनि सिसडोलका स्थानीयले पुनः अवरोध गरेका छन् ।   

प्रकाशित समय : २०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु