global ime bank Long Banner Ad

गृहपृष्ठ दुई वर्षपछि यार्सागुम्बा संकलन सुरु

दुई वर्षपछि यार्सागुम्बा संकलन सुरु

दुई वर्षपछि यार्सागुम्बा संकलन सुरु

संखुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जबाट बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु भएको छ । दुई वर्षदेखि रोकिएको यार्सागुम्बा संकलन कार्य जेठ १० गतेदेखि सुरु गरिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका कार्यालय प्रमुख रामदेव चौधरीका अनुसार कोरोना भाइरस संक्रमणका कारण दुई वर्षदेखि निकुञ्जले यार्सागुम्बा संकलनमा रोक लगाएको थियो । उक्त निकुञ्ज क्षेत्रमा दुई प्रजातिका यार्सा पाइन्छ । कार्यालयले सोलुखुम्बुको महाकुलुङ र छेस्काम मध्यवर्ती उपभोक्ता समिति, संखुवासभाकाे किमाथांका मध्यवर्ती उपभोक्ता समिति, चेपुवा, अरुण वरुण, मकालु, पाथीभरा, सेदुवा, पुखुवा, सिलिचोङ, मांतेवा, ताम्कु, बाला र सिसुवा मध्यवर्ती उपभोक्ता समितिमार्फत पुर्जी दिने व्यवस्था गरेको छ । अनुमति लिएका व्यक्ति वा समूहले जेठ १० गतेदेखि असार १० गतेसम्म यार्सा संकलन गर्न पाउने छन् ।

यार्सागुम्बा मकालु गाउँपालिका, भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रको मकालु वरुण निकुञ्जलगायत ठाउँमा पाइन्छ । उच्च हिमाली क्षेत्रका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा मानिन्छ । संकलित यार्सागुम्बा बिक्रीमार्फत उनीहरुले वर्षभरिको आवश्यक घर खर्च, बालबच्चा पढाउने गरेका स्थानीयको भनाइ छ ।

यार्सागुम्बा संकलन गर्न निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रभित्रका स्थानीयलाई ५००, मध्यवर्ती क्षेत्र बाहिरका तर जिल्ला भित्रकालाई दुई हजार र जिल्ला बाहिरकाको लागि तीन हजार रूपैयाँ प्रवेश शुल्क तोकेको छ । निकुञ्जले विगतका वर्षमा यार्साबाट वार्षिक ५० लाख रूपैयाँ बढीको राजस्व संकलन गर्ने गरेको छ । गुणस्तरका आधारमा १ नम्बरको यार्सागुम्बालाई केजीको ४० लाखसम्ममा बिक्री हुने गरेको भए पनि संखुवासभाकाे यार्सा गुम्बाप्रति केजी साढे पाँच लाखदेखि साढे सात लाख रूपैयाँसम्ममा किनबेच हुने गरेको व्यापारीको भनाइ छ ।

यसरी संकलन गरिएको यार्सा चीनको तिब्बती तथा काठमाडौँमा बढी निकासी हुने गरेको छ । निकुञ्ज संखुवासभा र सोलुखुम्बुको एक हजार ५०० वर्ग किलोमिटरमा फैलिएको छ ।

प्रकाशित समय : १९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु