global ime bank Long Banner Ad

गृहपृष्ठ तरकारी पारिको होइन, बारीको खाउ एग्रो फार्मकाे अभियान

तरकारी पारिको होइन, बारीको खाउ एग्रो फार्मकाे अभियान

तरकारी पारिको होइन, बारीको खाउ एग्रो फार्मकाे अभियान

निजी लगानीमा स्थापना गरिएको बञ्जरा एग्रो फार्मले हाल फार्मदेखि घरसम्म’ अभियान सञ्चालनमा ल्याएको छ । ‘पारिको हैन बारीको खाउ, ताजा लिन बञ्जार एग्रो जाउ’ नारा दिएका बञ्जरा एग्रो कृषिकर्म गर्न चाहने नयाँ कृषक एवं व्यवसायीका लागि पाठशालासमेत बनेको छ ।
    
सो अभियानअन्तर्गत बञ्जरा फार्मले थोक क्रेतासँगै खुद्रा क्रेताको खोजीमा लागेका छन् । आफ्नो फार्ममा भएको उत्पादनलाई उपभोक्तामाझ लैजानका लागि बञ्जराले फार्मभित्र र फार्म बाहिर दुई वटा स्टल सञ्चालनमा ल्याएको हो । 
    
विराटनगरको बरगाछी चोक नजिकै पश्चिमतर्फ चाँदनी चोकमा सञ्चालनमा ल्याएको स्टलमा बञ्जराकै उत्पादन लौका, काँक्रा, घिरौँला, साग, डल्लो खुर्सानी, धनियाँ, रायको साग, भिण्डी र गोलभेंडाजस्ता हरियो तरकारी बिक्री सुरु भएको छ । 

आम उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी बञ्जरा फार्मको उत्पादित तरकारी विषादीरहित अर्गानिक रहेको बताइएको छ ।  सो पसलमा बञ्जराकै उत्पादन, घीउ, दही, पनिर र दूध पनि बिक्रीका लागि राखिएको छ । विराटनगर महानगरपालिका–१२ दरैयामा रहेको सो फार्ममा अहिलेसम्म रु ३० करोडभन्दा बढी लगानी भइसकेको छ । स्थानीय सञ्जय चापागार्इं र चीनमा बस्ने उहाँका मामा गजेन्द्र शर्माले सो फार्म स्थापना गरेको हो । 

शर्मा चीनको पाँचतारे होटलमा महाप्रबन्धकका रुपमा कार्यरत हुनुहुन्छ । चीनमा कृषिबाट भएको आर्थिक रुपान्तरणको सिको गर्दै मामा–भाञ्जा मिलेर यो एग्रो फार्म स्थापना गरेको हो ।
   रु ११ करोड मूल्यमा पाँच बिघा जग्गा खरिद स्थापना गरिएको सो फार्ममा अहिले ११२ भारतीय उन्नत जातका होल–स्टेन जर्सी गाई छन् । 

प्रतिवटा रु दुुई लाख ५० हजार मूल्यपर्ने एक गाईले दैनिक २० देखि ४५ लिटरसम्म दुग्ध दिन्छ । फार्ममा अझै ८८ गाई थप्ने र पछि यो जातको गाई यहीबाट उत्पादन गरी बिक्री गर्ने योजना रहेको बताइएको छ ।
    
दैनिक एक हजार लिटर दुग्ध बिक्री हुने सो फार्ममा दैनिक २०० लिटर दुग्धको दही र पनिर बन्ने गरेको फार्मका सञ्चालक चापागार्इंले जानकारी दिए । दही प्रतिकेजी रु १५० र पनिर प्रतिकेजी रु ७०० मा बिक्री हुन्छ भने दुग्ध प्रतिलिटर रु ७० मा बिक्री हुन्छ । 
    
मासिक रु १५ लाख आम्दानी गर्न सफल भएको सो फार्मले ३० जनालाई प्रत्यक्षरुपमा रोजगारी पनि दिएको छ । गाईको व्यवस्थित गोठ, गोबरग्यास उत्पादनका साथै साइलेज बनाएर पशु आहार संरक्षण केन्द्र पनि बनाएको छ । 

गाईका लागि अत्यन्त पोषक मानिने फार्ममा दुई साइलेज संरक्षण केन्द्र छन् । निकै व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको देखिने फार्ममा भारतका राजस्थान निवासी सुरेन्द्र शर्मा प्राविधिकका रुपमा कार्यरत हुनुहुन्छ । 

अत्यन्त अनुभवी रहेको प्राविधिकको सल्लाह र सुझावबाट नै फार्मले आफ्ना रुप परिवर्तन गर्न सफल भइरहेको सञ्चालक चापागार्इंले जानकारी दिएका छन् । फार्मको गतिविधि र लगनशीलतालाई प्रोत्साहन गर्न सङ्घीय सरकारले यस वर्ष लाइभस्टक इनोभेसन प्रोजेक्टबाट मिल्किङ पार्लरका लागि रु एक करोड अनुदान दिएको छ । 

सरकारले गरेको यस किसिमको सहयोगले आफ्नो व्यवसाय र पेशाप्रति अझ जिम्मेवारी बनाएको शर्माले बताए । उनले भने “कुनै समयमा विराटनगर औद्योगिक नगरीबाट चिनिन्थ्यो अब नमूना एग्रो फार्मबाट चिनाउनेछु ।” 

बञ्जरा एग्रो फार्ममा अहिले दुई बिघा १० कट्ठा जग्गामा तरकारी खेती लगाइएको छ । यहाँका युवा विदेशमा तरकारी खेतीमा काम गर्न हुने यहाँ किन नहुने भनेर मैले तरकारी खेती सुरुआत गरेको हो ।

भेन्टा, करेल, बन्दाकोवी, गोलभेंडा, काँक्रा, भिण्डी, बोरी र लौकाजस्ता तरकारी लगाइएको सो फार्ममा उत्पादन हुने तरकारी अर्गानिक रहेको छ ।  कुनै पनि विषादी प्रयोग नगरी आफैले तयार गरेको अर्गानिक मल र विषादी मात्र प्रयोग गर्ने गरेकाले आम उपभोक्ताका लागि बञ्जार एग्रो फार्म आकर्षण भएको छ । 
    
दैनिक दर्जनौँ मानिस फार्म हेर्न आउने गरेकाले निकै खुसी अनुभव भएको चापागाईं बताउछन । उनले आगामी १५ दिनपछि हप्तामा २०० केजी तरकारी उत्पादन हुने बताए । बजारका लागि कुनै समस्या नभए पनि भारतबाट आयातित हुने विषादीयुक्त तरकारीले यहाँको उत्पादनलाई बजारमा केही समस्या आउने गरेको उहाँको दुःखेसो छ । 

जुन दिन उपभोक्ता सचेत हुन्छ, त्यो दिन हाम्रो उत्पादनले बजार महत्व पाउने आशा र विश्वासमा छु”, चापागाईंले भने । उहाँले फार्म ब्यवस्थापनका लागि आवश्यकपर्ने संरचना निर्माण गर्न लिइएको रु नौ करोड ऋण आउँदा दिनमा फार्मबाट हुने आम्दानीले तिर्न सकिने विश्वास लिएको छ । 
    
प्रदेश नं १ का कृषि तथा पशुपंक्षी विकास मन्त्रायलयका सचिव मेघनाथ तिमल्सेनाले उक्त फार्मले ‘गरे के हुँदैन’ भन्ने उदाहरण दिएको बताए । उनका अनुसार उक्त फार्मबाट अन्य नागरिकले पनि शिक्षा लिँदै स्वदेशी उत्पादन बढाउन मद्दत गर्नुपर्ने देखिन्छ ।

प्रकाशित समय : १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु