गृहपृष्ठ यौन हिंसाको भिडिओबारे अनुसन्धान सुरू, हदम्याद अवराेध !
यौन हिंसाको भिडिओबारे अनुसन्धान सुरू, हदम्याद अवराेध !
बिहिबारदेखि विभिन्न सामाजिक सञ्जालमा भाइरल यौन हिंसाको भिडिओबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । भिडिओबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय छानविन समिति बनाएको छ ।
एसएसपी वसन्त कुँवरको नेतृत्वमा बनेको समितिमा एसपी कृष्ण कोइराला, डीएसपी कोपिला चुडाल, हरि बस्नेत र इन्स्पेक्टर सपना खड्का छन् । समितिले शुक्रबारबाटै काम सुरु गरेको छ ।
सुन्दरी प्रतियोगिताका आयोजकले आठ वर्षअघि आफूमाथि बलात्कार गरेको विषय सार्वजनिक गरेपछि युवतीले हदम्यादका कारण न्याय नपाउने चिन्ता जाहेर गरेकी छिन् । सो विषयमा समेत प्रहरीले कानुनी परामर्श गरिरहेको छ ।
बलात्कारको उजुरीमा हदम्यादसम्बन्धी कानुनमा सरकार र संसद् करिब आधा शताब्दीसम्म अनुदार रहेकाले न्यायको लडाइँ जटिल भएको हो । २०७२ मा संविधान जारी हुनुअघि त महिलामाथि हुने बलात्कारभन्दा पशुकरणीलाई ठूलो अपराध मानिन्थ्यो । २०२० मा बनेको मुलुकी ऐनमा महिलामाथि भएको बलात्कारको उजुरी गर्न ३५ दिनको मात्र म्याद दिएको थियो, जब कि पशुकरणीमा भने एक वर्षसम्मको म्याद थियो ।
नयाँ संविधान जारी भएपछि विभिन्न कानुनमा रहेका लैंगिक असमानता हटाउन ल्याइएको ऐनले बलात्कार उजुरीको हदम्यादलाई ३५ दिनबाट बढाएर ६ महिना बनाइएको थियो । त्यस्तै २०७५ मा कानुन संशोधन गरेर हदम्याद एक वर्ष बनाइएको छ । तर, पछिल्लो पटक सार्वजनिक भएका यस्ता घटनाले एकवर्षे हदम्याद पनि अपर्याप्त रहेको र यसले पीडितलाई न्यायबाट वञ्चित गर्ने भन्दै कानुन व्यवसायीहरूले सरोकार व्यक्त गरेका छन् ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले पनि बलात्कार मुद्दामा हदम्यादसम्बन्धी कानुनी व्यवस्था हटाउन नेपाल सरकारलाई निरन्तर दबाब दिँदै आएका छन् । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति ९सीड० ले सन् २०१८ मा नेपालले पेस गरेको आवधिक प्रतिवेदनमाथि टिप्पणी गर्दै हदम्यादले बलात्कार पीडितलाई न्याय खोज्नबाट वञ्चित गरेको भन्दै हटाउन सिफारिस गरेको थियो ।
तर विगतमा पनि यस्तै प्रकृतिका मुद्धामा पीडितले न्याय पाएको नजिर भएकाले सरकारी वकिल र प्रहरीले अनुसन्धान गरि कारबाही प्रक्रियामा ल्याउन सक्ने कतिपय कानुनविज्ञहरुको भनाइ छ ।
अहिले २४ वर्षकी ती युवती बलात्कार र यौन शोषण हुँदा १६ वर्षकी मात्र थिइन् । प्रतियोगितामा भाग लिने, मोडलिङमा अगाडि बढ्ने सुन्दर सपना बोकेकी उनलाई प्रतियोगिताका आयोजकले होटलमा बोलाएर बलात्कार तथा पटकपटक यौन शोषण गरेपछि आफ्ना सामाजिक सम्बन्धहरू भत्किएको मात्र होइन, आत्मबल टुटेकाले औषधिको सहारा लिनुपरेको युवतीको भनाइ छ ।
प्रकाशित समय : १५:४५ बजे



















