गृहपृष्ठ डोटीमा बस दुर्घटना हुँदा ३० जना घाइते

डोटीमा बस दुर्घटना हुँदा ३० जना घाइते

डोटीमा बस दुर्घटना हुँदा ३० जना घाइते

डोटीमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । धनगढीबाट बाजुरा जाँदै गरेको मालिका यातायातको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको हो । बस डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा बिहीबार बिहान ६ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भोला भट्टले जानकारी दिए ।

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न भारतलगायत तराईका जिल्ला कैलाली र कञ्चनपुरबाट घर फर्किने यात्रु बोकेको बस दुर्घटनामा परेको हो । घाइतेहरूको उद्धारमा प्रहरी, नेपाली सेना, निर्वाचनका लागि पालिकामा खटिएका निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारी, स्थानीयबासी लगायतका खटिएका छन् ।

प्रहरीका अनुसार घाइतेहरु मध्ये १६ जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ भने १३ जनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । गम्भीर घाइते एक जनालाई धनगढीका लागि रिफर गरिएको छ ।

बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको डिएसपी भट्टले जानकारी दिए । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । बस सडकबाट करिब १५/२० मिटर तल खसेको जनाइएको छ ।

प्रकाशित समय : १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु