गृहपृष्ठ कतारी राजकुमारी बनिन् कञ्चनजंघा आरोहण गर्ने पहिलो अरबी महिला
कतारी राजकुमारी बनिन् कञ्चनजंघा आरोहण गर्ने पहिलो अरबी महिला
कतारी राजकुमारी शेखा आश्मा अलथानी ८,५८६ मिटरको उचाइको विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको शिखरमा पुग्ने पहिलो अरब महिला बनेकी छन् । आफ्नो इन्स्टाग्राममा स्टाटस राख्दै शेखा आश्माले कञ्चनजंघा शिखरमा पुग्ने पहिलो अरब नागरिक हुन पाएकोमा गर्व लागेको उल्लेख गरेकी छन् ।
उनले आफ्नो सफलताका पछाडि बलियो टिमको साथ र सहयोग रहेको पनि उल्लेख गरेकी छन् । निर्मल पुर्जा लगायतका टीमले उनलाई शिखरमा पुग्न सहयोग गरेका थिए । ‘म केही दिन बिरामी परेकी थिएँ, त्यसैले आँटेको हिमाल चढ्न सक्दिनँ झै लागेको थियो । तर, जम्मा दुइ दिनमै भव्य कञ्चनजंघाको सफल आरोहण गरेँ,’ उनले आफ्नो पोष्टमा लेखेकी छन्, ‘हिमाल चढ्न सहज थिएन र यसले मलाई अझै हिम्मत दिएको छ । कञ्चनजंघा विश्वको तेस्रो अग्लो हिमाल हो, यो हिमालको सफल आरोहणसँगै मेरो उत्साह बढेको छ र अझै उच्च शिखर चुम्ने बाटोमा अघि बढ्न प्रेरणा मिलेको छ ।’
कतारी राजकुमारी केही समय हिमाल आरोहणमै रहने र सगरमाथा आरोहणको प्रयास गर्ने बताइएको छ । यसअघि शेखा आश्माकाे सगरमाथा आरोहण गर्ने प्रयास असफल भएकाे थियाे ।
प्रकाशित समय : १९:३४ बजे



















