global ime bank Long Banner Ad

गृहपृष्ठ पर्यटक बढेपछि अन्नपूर्ण क्षेत्रका व्यवसायी उत्साहित

पर्यटक बढेपछि अन्नपूर्ण क्षेत्रका व्यवसायी उत्साहित

पर्यटक बढेपछि अन्नपूर्ण क्षेत्रका व्यवसायी उत्साहित

राउण्ड अन्नपूर्ण क्षेत्रमा दैनिक डेढसय बढी विदेशी पर्यटक पैदल मार्ग हुँदै आउन थालेपछि यहाँको पर्यटन क्षेत्र पुरानै लयमा फर्किन सुरु भएको छ । कोरोना महामारीका कारण विगत दुई वर्षसम्म सुस्ताएको पर्यटन क्रियाकलापले गति लिन थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

कास्कीको नयाँ पुलबाट सुरु हुने राउण्ड अन्नपूर्ण क्षेत्रमा दैनिक डेढसय बढी विदेशी र करिब ५०० को हाराहारीमा आन्तरिक पर्यटक भित्रिन थालेका अन्नपूर्ण संरक्षण क्षेत्र वीरेठाँटी चेक पोष्टले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा चहलपहलसमेत बढ्दै गएको छ भने पूर्वाधार विकासले पनि गति लिन थालेको छ ।

कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै तंग्रिँदै जान थालेपछि अधुरा रहेका पूर्वाधार विकासका काम पनि सुरु हुन थालेका घोडेपानीका होटल व्यवसायी सुरेन गुरुङले बताए ।  गुरुङका अनुसार अन्नपूर्ण पदमार्गमा विशेषगरी जर्मनी, फ्रान्स, इजरायल, अष्ट्रेलिया, अमेरिका बेलायतलगायत देशका पर्यटक बढी आउने गरेका छन् भने पछिल्लो समय आन्तरिक पर्यटक उल्लेख्य बढेको छ । पदमार्गमा असोजदेखि चहलपहल बढेको उनले बताए ।

वर्षौंदेखि पर्यटकलाई लक्षित गरी खोलिएका होटलसमेत कोरोनका कारण बन्द हुने स्थितिमा पुगेका थिए । पछिल्लो समय बन्द भएका होटलसमेत सञ्चालनमा आएका छन् भने नयाँ होटलसमेत थपिँदै गएको व्यवसायी बताउँछन् । 'यस क्षेत्रको मुख्य व्यवसाय नै होटल हो,' गुरुङले भने, 'कोरोनाका कारण धेरै होटल बन्द भए । अहिले पर्यटक आउन थालेसँगै पुन: सञ्चालनमा आउन थालेका छन् ।'

व्यवसायीका अनुसार कोरोनाले बन्द भएका होटल गत माघ महिनादेखि भरिभराउ हुनथालेका हुन् । पदयात्राका लागि उपयुक्त मौसम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म मानिन्छ । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । कास्कीको नयाँ पुलबाट सुरु भएको पदयात्रा घान्द्रुक, छोमरुङ, अन्नपूर्ण आधारशिविर पुग्छ भने पर्यटक वीरेठाँटी हुँदै घोरेपानी, पुनहिल, तातोपानी र मुस्ताङ् पुग्छन् ।

अन्नपूर्ण पदयात्रा मार्गमा मोटरबाटो पुगेर पदमार्ग छोटिएको अवस्थामा नयाँ रुटको विकास गर्न टान पश्चिमाञ्चलले गृहकार्य गरिरहेको सो संस्थाका सुशील पौडेलले बताए  । उनका अनुसार २१ दिनबाट एक सातामा झरेको राउन्ड अन्नपूर्णको विकल्पमा अर्को रुटको तयारी भइरहेको छ । 'वीरेठाँटीबाट घोडेपानी, स्वाँत, खोप्रा, हिडनलेक हुँदै छोम्रोङ पुग्ने र त्यहाँबाट लान्द्रुक, मर्दी हिमाल, माछापुच्छ्रे मोडेल ट्रेक हुँदै सार्दीखोला निस्कने र त्यहाँबाट घलेखर्क, तारा हिलटप, सिक्लेस, कफुचे, कोरी, क्व्होलासोंथर हुँदै नामुन पास भएर मनाङबाट बाहिरिने ट्रेलको अवधारणा छ,' उनले भने ।

याे ट्रेलको  विकास गर्न सके २५ दिनसम्म अन्नपूर्ण क्षेत्रमा नै पर्यटकलाई भुलाउन सकिने उनले बताए ।

प्रकाशित समय : २०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु