गृहपृष्ठ ‘उम्मेदवारले गरेको खर्चबारे सुक्ष्म अनुगमनकर्ताले विवरण संकलन गरिरहेको छ’
‘उम्मेदवारले गरेको खर्चबारे सुक्ष्म अनुगमनकर्ताले विवरण संकलन गरिरहेको छ’

स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गरेको खर्चबारे सुक्ष्म अनुगमनकर्ताले विवरण संकलन गरिरहेको निर्वाचन आयोगले जनाएको छ । शुक्रबार आयोगले विज्ञप्ति जारी गर्दै निर्वाचन सकिएपछि उम्मेदवारले पेश गर्ने खर्च विवरणको वास्तविकता र विश्वसनीयता परीक्षण गर्न सहज हुने भएकाले आयोगले सुक्ष्म अनुगमनकर्ता खटाएको जनाएकाे हाे ।
आयोगले स्थानीय तह निर्वाचनका क्रममा उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा निर्धारण भएकाले सोको पालना गर्न आग्रह गरेको छ । आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ मा निर्वाचनमा दल वा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद आयोगले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएबमोजिम हुने जनाएकाे छ । यसका साथै दल वा उम्मेदवार वा तिनको निर्वाचन प्रतिनिधिले निर्वाचनको अवधिमा निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिएको ढाँचामा तोकिएबमोजिम राख्नुपर्ने, कुनै दल वा उम्मेदवारले निर्वाचनमा गरेको जम्मा खर्च तोकिएको खर्चको रकमको हदभन्दा बढी हुन नहुने पनि आयोगले उल्लेख गरेकाे छ । निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालय समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ ।
आयोगले शुक्रबार विज्ञप्ति जारी गरी ऐनको दफा २५ को उपदफा (२) मा त्यस्तो खर्च सम्बन्धमा आयोगले मान्यताप्राप्त लेखा परीक्षकबाट लेखापरीक्षण गराउन सक्ने व्यवस्था रहेको सन्दर्भमा निर्वाचन प्रचार प्रसारको सम्बन्धमा हुने महत्वपूर्ण खर्चको विवरण पहिले नै संकलन गर्दा उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएपछि पेश गर्ने निर्वाचन खर्चको विवरणको वास्तविकता तथा विश्वसनीयता परीक्षण गर्न सहज हुने स्पष्ट पारेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेकाे विज्ञप्तिमा सम्बन्धित उम्मेदवारले कानुनबमोजिम बुझाउने निर्वाचन खर्चको विवरण तथा आयोगले खटाएका सूक्ष्म अनुगमनकर्ताले पेश गर्ने प्रतिवेदनसँग समेत भिडाई विश्लेषण गर्ने प्रयोजनका लागि सम्बन्धित स्थानीय तहमा निर्वाचन प्रचार प्रसारका सम्बन्धमा भएका आमसभा, जुलुस, हेलिकप्टरको प्रयोगजस्ता महत्वपूर्ण क्रियाकलापको सम्बन्धमा सूक्ष्म रूपमा अनुगमन गरी वा गर्न लगाई खर्च विवरण अनुमान गर्न सकिने भएमा सोसमेत गरी मतदान हुने दिनअगावै गोप्य रूपमा आयोगमा पठाउन मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ ।
विज्ञप्ति :
प्रकाशित समय : ०१:२५ बजे