निर्वाचनका दिन वेस्ट बैंकका सबै स्थल मार्ग बन्द गर्ने इजरायलको घोषणा
वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:३७
shares
People hold Israeli flags, as they wait for former Israeli hostage, Alon Ohel, to return home after leaving hospital, following his release from captivity in Gaza, in Lavon, Israel, October 24, 2025. REUTERS/Shir Torem TPX IMAGES OF THE DAY
इजरायलले आगामी अक्टोबर २७ मा हुने निर्वाचनका दिन वेस्ट बैंकसँग जोडिएका सबै स्थल मार्ग बन्द गर्ने घोषणा गरेको छ । प्यालेस्टिनी बन्दुकधारीको आक्रमणमा दुई इजरायली सैनिक मारिएपछि इजरायलले उक्त क्षेत्रमा सैन्य कारबाही तीव्र बनाएको हो ।
इजरायली सेनाले हेब्रोन सहरमा प्रवेश गरी करिब दुई हजार प्यालेस्टिनी बासिन्दालाई विस्थापित गराएको भोलिपल्ट उक्त घोषणा गरेको हो । रक्षामन्त्री इजरायल काट्जले हमाससँग सम्बन्धित समस्या समाधान नभएसम्म विस्थापितहरूलाई घर फर्कन नदिइने बताएका छन ।
शुक्रबार प्यालेस्टिनी सहरनजिकैको जाँच चौकीमा भएको आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए । हमासले आक्रमणको जिम्मेवारी नलिए पनि त्यसको प्रशंसा गरेको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमणमा सङ्लग्न पक्षले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन । उनले सन् १९६७ मा इजरायलले वेस्ट बैंक कब्जा गरेयताकै ठूलो स्तरको सैन्य कारबाही गर्ने सङ्केत गरेका छन ।
इजरायली सेनाका अनुसार आइतबारदेखि प्यालेस्टिनी कामदारलाई वेस्ट बैंकका इजरायली बस्ती, औद्योगिक क्षेत्र तथा जोर्डन उपत्यकामा प्रवेश गर्न रोक लगाइनेछ । निर्वाचनको दिन सबै स्थल मार्ग बन्द रहनेछन् ।
यसैबीच, प्यालेस्टिनी प्राधिकरणले सैन्य कारबाहीबाट प्रभावित नागरिकको सुरक्षाका लागि इजरायलमाथि अन्तरराष्ट्रिय दबाब बढाउन आह्वान गरेको छ ।
इजरायली सेनाले शुक्रबार र शनिबार वेस्ट बैंकका ४० स्थानमा कारबाही गरेको जनाएको छ । सेनाका अनुसार हमास र इस्लामिक जिहादजस्ता सङ्गठनसँग आबद्ध व्यक्तिसहित करिब ४० जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको छ ।
हेब्रोनको एन देर बहा क्षेत्रमा सैनिकहरूले राति लाउडस्पीकरमार्फत बासिन्दालाई घर खाली गर्न निर्देशन दिएका थिए । स्थानीय ७० वर्षीय पसल सञ्चालक हिगाजी शावर अल–तमिमीका अनुसार उनकी ९० वर्षीया बिरामी सासूलाई समेत बोकेर सुरक्षित स्थानमा लैजानुपरेको थियो ।
इजरायलका दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गोलीकाण्डपछि अवैध संरचना भत्काउने आदेश दिएको बताएका छन । उनले आक्रमणमा सङ्लग्न पक्षले त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन ।
इजरायली सेनाले कारबाही केही दिनसम्म चल्ने जनाएको छ । तर, नेतान्याहुको पछिल्लो अभिव्यक्तिले वेस्ट बैंकमा थप व्यापक सैन्य अभियान हुन सक्ने सङ्केत गरेको छ ।
























