गृहपृष्ठ पहिलो एकदिवसीयमा जिम्बावेसँग नेपाल पराजित
पहिलो एकदिवसीयमा जिम्बावेसँग नेपाल पराजित
पहिलो एकदिवसीयमा पाहुना टोली जिम्बावे 'ए'सँग नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा शुक्रबार नेपाल जिम्बावेसँग ३ विकेटले पराजित भएको हो ।जिम्बावेले २६ ओभरमा ७ विकेट गुमाएर नेपालले दिएको १ सय ३७ रनको लक्ष्य पूरा गर्याे ।
जिम्बावेका लागि इनोसेन्ट कियाले अविजित रहँदै ४८ रन बनाए । ब्राड इभान्स १७ रन अविजित रहे । यस्तै सेफास झुवाले ३२ र रोय कियाले १४ रन बनाए । नेपालका सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिए । सोमपाल कामी र सागर ढकालले १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल ३१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटिएको थियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । करण केसीले २५ रन जोड्दा कुशल भुर्तेलले १९ रन बनाए । दिपेन्द्र सिंह ऐरी १८ रन आउट भए । आरिफ शेख र आसिफ शेख समान ५ रन आउट हुँदा रोहित पौडेल ३ तथा कप्तान सन्दीप लामिछाने ४ रनमा आउट भए । मोहम्मद आदील आलमले ३ रन जोड्दा सुशन भारी विना कुनै रन आउट भए । सागर ढकाल १ रनमा अविजित रहे । जिम्बावेका ब्राड इभान्सले ४ विकेट लिए । भिक्टर, ब्राण्डन माभुता र सेफासले २/२ विकेट लिए ।
जितसँगै जिम्बावेले तीन खेलको सिरिज १-० को अग्रता बनाएको छ । दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ । 'आइसीसी पुरुष क्रिकेट विश्वकप लिग टु'अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे 'ए'सँग सिरिज खेलिरहेको हो ।
यसअघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो ।
प्रकाशित समय : २०:३७ बजे



















