विश्व प्रसिद्ध माइडिया कम्पनीको आधिकारिक बिक्रेतामा चौधरी ग्रुप नियुक्त
वि.सं.२०७९ वैशाख २२ बिहीवार २०:२०
shares

माइडिया कम्पनीको आधिकारिक बिक्रेताको रुपमा चौधरी ग्रुपलाई नियुक्त भएको छ । यससँगै चौधरी ग्रुपले विश्व प्रसिद्ध इलेक्ट्रोनिक्स ब्राण्ड ‘माइडिया’को इलेक्ट्रिक उपकरणहरू नेपाली बजारमा भित्र्याउने र बिक्री गर्ने भएको छ ।
चौधरी ग्रुपका अनुसार, माइडिया ब्रान्डका साना घरेलु उपकरणहरू (एयर प्युरिफायर, एयर फ्रायर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन हब, राइस कुकर, गार्मेन्ट स्टिमर, स्ट्यान्ड फ्यान, फूड प्रोसेसर, ह्यान्ड मिक्सर, ह्यान्ड ब्लेन्डर, केटल, मिट मिनसर, टोस्टर, फ्यान हिटर, पीटीसी सिरामिक हिटर, ओएफआर हिटर) नेपाली बजारमा पहिलेदेखि नै बिक्री हुँदै आइरहेको छ । यसका साथै, कम्पनीले किचेन एप्लायन्स (बार्बिक्यु, फ्रि स्ट्याण्डिङ ओभन, माइक्रोवेभ ओभन, टोस्टर ओभन), भ्याकुम क्लिनरहरू (ब्यागलेस, ड्रम-ड्राइ, ड्रम-वेट एण्ड ड्राइ), वासिङ मेसिन, वासर ड्रायर र रेफ्रिजेरेसन उत्पादनहरु ल्याउने योजना बनाएको छ । योसँगै कम्पनीले माइडिया ब्राण्डका अन्य धेरै उत्पादनहरु पनि चाँडै ल्याउने तयारी गरिरहेको छ ।
माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुँइसम्बन्धी हेरचाह र लाइटिङमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको सबैभन्दा व्यापक उत्पादनको विविधताहरू प्रदान गर्दै आएको छ । माइडिया ब्राण्ड माइडिया ग्रुप अन्तर्गतको घरेलु उपकरण व्यवसाय भित्रका १० भन्दा बढी ब्राण्डमध्ये एक हो । माइडिया ग्रुप एक अग्रणी विश्वव्यापी उच्च-प्रविधि कम्पनी हो, जुन २०२१ को ग्लोबल फर्च्यून ५०० मा २८८ स्थानमा रहन सफल भएकाे थियाे ।
माइडिया ग्रुपको व्यापार घरेलु उपकरणहरूभन्दा पनि बाहिर छ । जसमध्ये एचभीएसी, रोबोटिक्स र अटोमेसन, स्मार्ट होम र आइओटीका साथै स्मार्ट लजिस्टिक र कम्पोनेन्टहरू जस्ता व्यापार स्तम्भहरू पनि समावेश गर्दछ ।
























