एक राउण्ड गोली र सालकको खपटासहित पक्राउ
वि.सं.२०७९ वैशाख २२ बिहीवार २०:०२
shares

काठमाडौं महानगरपालिका-१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटाजस्तो देखिने वस्तुसहित सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास नगरपालिका-८ घर भएका ५७ वर्षीय मण्डल गिरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा लुकाई राखेको अवस्थामा उक्त गोली र वस्तुसहित उनी पक्राउ परेका हुन् ।
यसैगरी काठमाडौं महानगरपालिका-३१ शान्तिनगरस्थित युनिभर्सल लन्च एण्ड बार होटलबाट करिब ४ किलो ५ सय ग्राम सालकको खपटा (अखेटोपहार)सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं चाबहिल बस्ने सर्लाही बागमती नगरपालिका-३ घर भएका ३२ वर्षीय सुबिलाल सिङतान र काठमाडौं थलि बस्ने ओखलढुंगा सुनकोशी गाउँपालिका-२ घर भएका २१ वर्षीय सुवास बिष्ट रहेका छन् । उक्त होटलमा अवैध रुपमा दुर्लभ वन्यजन्तु सालकको खपटा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त खपटासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
























