गृहपृष्ठ ‘निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पत्रकारले मान्न जरुरी छैन’
‘निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पत्रकारले मान्न जरुरी छैन’
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पत्रकारहरूले मान्न जरुरी नरहेको बताएका छन् । निर्वाचन आयोगले बनाएको आचारसंहितामा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित बनाइएको उनकाे भनाइ छ ।
विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ को अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले यस्ताे बताएका हुन् । उनले राज्यले प्रविधिलाई मात्रै हेरेर कानुनहरू बनाउँदा पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतालाई वञ्चित गरेको उल्लेख गर्दै उनले आयोगको आचारसंहिता पत्रकारहरूले मान्न जरुरी नरहेको बताए ।
उनले पत्रकारहरूको आफ्नै आचारसंहिता रहेको पनि स्पष्ट पारे । ‘प्रविधिलाई मात्रै हेरेर राज्यले कानुनहरू बनाउँदै गर्दाखेरी त्यसले पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतालाई वञ्चित गर्दोरहेछ भन्ने अनुभूति हामीलाई भएको छ । भर्खरै निर्वाचन आयोगले जुन एउटा आचारसंहिता बनाएको छ, त्यसलाई हेर्ने हो भने प्रविधिसँग डराउँदै गर्दाखेरी नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई पनि संकुचन हुने ढंगका प्रावधानहरू त्यहाँ राखेको छ,' उनले भने, 'तर हामीले भन्यौँ निर्वाचन आयोगको जुन आचारसंहिता छ, त्यसलाई हामीले आचारसंहिताको रूपमा मान्नु जरुरी छैन ।' अध्यक्ष पाेखरेलले पत्रकार महासंघकाे आफ्नै आचारसंहिता भएकाले आयाेगले त पत्रकारसँग गरिएको अपेक्षा मात्रै भएकाे बताए । 'त्यो अपेक्षा हामीले कति पूरा गर्ने भन्ने कुरा हामीले हाम्रो आचारसंहिताको जगमा उभिएर निर्क्याैल गर्ने हो र त्यो आधारमा हामीले आफूलाई प्रस्तुत गर्ने हो हामीले भनिराखेका छौँ,' उनले भने ।
अध्यक्ष पोखरेलले राज्यले सधैँभरी प्रेसलाई नियन्त्रण गर्ने मनसाय राखेको बताए । उनले पत्रकारितालाई श्रमको दृष्टिले पनि सबल र समुन्नत बनाउनुपर्नेमा जोड दिए ।
प्रकाशित समय : २०:२९ बजे



















