गृहपृष्ठ वर्षाले किसान हर्षित, उम्मेदवारलाई छटपटी !
वर्षाले किसान हर्षित, उम्मेदवारलाई छटपटी !
लगातारको वर्षाले महोत्तरीका किसान हर्षित छन् भने स्थानीय तह चुनाव प्रचारमा जुटिरहेका उमेदवारलाई छटपटी भएको छ । चिस्यान हुने गरी पानी परेपछि किसान खुसी भएका हुन् । 'खेतबारी खनजोत र बालीनाली लगाउन सहज भएको छ' बर्दिबास नगरपालिका-९ पशुपतिनगरका महेन्द्र महतोले भने ।
वर्षापछि रुखिएको जग्गा खनजोत गर्न सहज भएको उनले बताए । वर्षाले बर्खे धान र कोदोको धुले ब्याड राख्न सजिलो भएको छ । तरकारी बाली लगाउन पर्याप्त चिस्यान भएको भंगाहा नगरपालिका-४ रामनगरका चन्देश्वर राय दनुवारले बताए ।
वर्षाले किसान खुसी भए पनि उम्मेदवार भने बिलखबन्दमा परेका छन् । लगातारको वर्षाले मतदाता भेट्न र चुनावी प्रचारको अभियान बढाउन नपाउँदा उम्मेदवारलाई छटपटी भएको छ । 'वर्षाले प्रचार प्रसार गर्न अप्ठ्यारो भएको छ', भंगाहा-४ का वडाध्यक्षका उम्मेदवार गंगाराम महतो भन्छन्, 'खेतीपातीको समय छ, मतदाता घरमा कमै भेटिन्छन् ।'
वर्षाले ग्रामीण सडक हिलाम्य भएका छन् । चुनावी प्रचार अभियानमा बाधा पुगेको छ । बर्दिबास-७ का वडाध्यक्षका उम्मेदवार धनसिंह क्याप्छाकीले भने, 'प्रचारमा वर्षाले असर गर्यो ।'
प्रकाशित समय : २१:४९ बजे



















