nmb bank

गृहपृष्ठ छपियो ८० प्रतिशत मतपत्र, जिल्लामा पुग्दै निर्वाचन सामग्री

छपियो ८० प्रतिशत मतपत्र, जिल्लामा पुग्दै निर्वाचन सामग्री

छपियो ८० प्रतिशत मतपत्र, जिल्लामा पुग्दै निर्वाचन सामग्री

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन-२०७९ का लागि हालसम्म ८० प्रतिशत मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । हालसम्म ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ कार्य सकिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार बाँकी जिल्लाको मतपत्र छाप्ने क्रम जारी रहेको छ । निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ । काठमाडौँसहित छ वटा महानगरपालिकाका लागि आवश्यक पर्ने मतपत्र मनोनयन दर्ता कार्य सकिएपछि छपाई गरिनेछ । ती तहका मतपत्रमा पनि पुरानै डिजाइनअनुसार हुनेछ ।

उम्मेदवारले निर्वाचन प्रचार गर्ने अवधिभन्दा १५ दिनअघि मतपत्र पुगिसक्नुपर्ने व्यवस्था, मुद्रण क्षमता र मुलुकको दूरदराजका पालिकामा सुरक्षितरुपमा ढुवाली गर्नुपर्ने भएकाले मनोनयन दर्ता सकिएपछि मतपत्र छपाइ गर्न सम्भव नहुने भएकाले आयोगले मनोनयन दर्ता अघि नै मतपत्र छपाइ कार्य गरेको हो । विभिन्न राजनीतिक दलका तर्फबाट आफूहरू गठबन्धनमा उम्मेदवारी दिने भएकाले उम्मेदवारी दिइएपछि उम्मेदवारीको संख्या र निर्वाचन चिह्नका आधारमा मतपत्र छाप्न गरिएको आग्रहमा आयोगले असमर्थता जनाएको छ ।

निर्वाचन सामग्री जिल्ला जिल्लामा

निर्वाचन आयोगले जिल्लामा निर्वाचन सामग्री पठाउने क्रम भने पूरा गरेको छ । आज दिउँसोसम्म पाल्पा र पर्वत गरी ७६ जिल्लामा सामग्री पठाइएको छ भने बाँकी रहेको अर्घाखाँची जिल्लाको सामग्री आजै पठाइने छ । सामग्री पठाइएपछि वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गर्ने तयारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले यही वैशाख ८ गतेदेखि निर्वाचन सामग्री लोड गरेर पठाउन थालेको हो । उपसचिव कृष्णप्रसाद सापकोटाका अनुसार १० गतेसम्म पठाइएका सामग्री सम्बन्धित स्थानमा प्राप्त भएको जानकारी आएको छ भने ११ गते पठाइएका कतिपय ट्रकहरु पुग्ने क्रममा छन् ।

आयोगले कम मतदाता भएका र भौगोलिक रुपमा साना मानिने जिल्लामा एक र ठूला जिल्लामा दुई-दुई ट्रकमा सामान पठाएको छ । कान्तिपथस्थित आयोगबाट लगबुक भराएर छुट्ने ती हरेक ट्रकमा सामानको सूचीसहित आयोगका कर्मचारीसमेत सवार हुन्छन् । उनीहरूलाई मोबाइल-ट्रयाक गरी कुन ट्रक कति बेला कहाँ पुग्यो वा बाटामा कुनै समस्या भए नभएको प्रविधिबाट सूचित हुने प्रबन्ध गरिएको छ । ती सामानलाई आवश्यकताअनुसार सुरक्षा गस्ती पनि दिइएको हुन्छ र सम्बन्धित पालिकामा निर्वाचन अधिकृतले बुझेको विवरण आयोगलाई दिनुपर्छ ।

आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार २०७९ साल वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्धारण गरिएकोमा सो कार्य आज ५ बजेसम्म सम्पन्न हुँदैछ । वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेकाे छ । तालिकाअनुसार वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

यी सबै कार्यक्रम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछन् ।

प्रकाशित समय : ००:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु