गृहपृष्ठ बाजुरामा एमालेका उम्मेदवार अधिकांश पुरानै अनुहार
बाजुरामा एमालेका उम्मेदवार अधिकांश पुरानै अनुहार
नेकपा एमाले बाजुराले नौ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि उम्मेदवार टुंगाे लगाएको छ । एमालेले शनिबार राति मात्र उम्मेदवार टुंगाे लगाएको हो । आजदेखि उम्मेदवार मनोनयन सुरु भएको छ । जिल्लाबाट सर्वसम्मत हुन नसकेका पालिका प्रमुख उपप्रमुख सहितको नाम पार्टी प्रदेश कमिटीले टुंगो लगाएको हो ।
धेरै ठाउँमा २०७४ सालको चुनावमा पराजित उम्मेदवारलाई नै स्थान दिइएको छ । एमालेका उम्मेदवारमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । गौमुल गाउँपालिकामा वर्तमान अध्यक्ष उपाध्यक्ष हरि रोकाया र सीता थापा नै दोहोरिएका छन् । जगन्नाथ गाउँपालिकामा वर्तमान अध्यक्ष कालीबहादुर शाही दोहोरिएका छन् भने उपाध्यक्षमा मरुकला विष्टलाई उम्मेदवार बनाएको एमालेले बताएको छ ।
बुढीगंगा नगरपालिकामा रामबहादुर बानियाँ र माया कुँवरलाई नै उम्मेदवार बनाएको छ । कुँवर र बानियाँ दुवै २०७४ सालमा नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए । त्रिवेणी नगरपालिकामा उपप्रमुखको उम्मेदवार पुरानै अनुहार पार्वती विष्टलाई बनाए पनि प्रमुखमा भने नयाँ अनुहार मोतीसिंह बुढा उज्वललाई उम्मेदवार बनाएको छ । बडीमालिका नगरपालिकामा नगर प्रमुखमा अमर खड्का यसअघि नै सर्वसम्मत बनिसकेका थिए भने उपप्रमुखमा नन्दा कुमारी थापालाई उम्मेदवार बनाएको छ ।
बुढीनन्दा नगरपालिकामा प्रमुखमा जनक कुमार बोहरा र उपप्रमुखमा मनु रोकाया बीसीलाई उम्मेदवार बनाएको छ । हिमाली गाउँपालिकामा २०७४ सालकै पराजित उम्मेदवार अजबहादुर मल्ल र राजकला सार्कीलाई उम्मेदवार बनाएको छ । एमालेबाट जितेका उम्मेदवार समाजवादीतिर लागेपछि स्वामिकार्तिक खापर गाउँपालिकामा भने दुवै नयाँ अनुहार आएका छन् । त्यहाँ चतुर्भुज शाही अध्यक्ष र सुलोचना भण्डारी बुढालाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । खप्तड छेडेदह गाउँपालिकाले भने दिलबहादुर रावत र मन्देवी ओलीलाई सर्वसम्मत उम्मेदवार बनाएको छ ।
प्रकाशित समय : २०:२६ बजे