गृहपृष्ठ यू-१६ विद्यालयस्तरीय क्रिकेटः वीरेन्द्र र कालिका विजयी
यू-१६ विद्यालयस्तरीय क्रिकेटः वीरेन्द्र र कालिका विजयी
बैतडी । बैतडीमा जारी यू-१६ विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा वीरेन्द्र मावि र कालिका मावि विजयी भएका छन् । पहिलो खेलमा वीरेन्द्रले कालाशैनीमाथि ७७ रनको विशाल जित निकालेर विजयी भएको हो । वीरेन्द्रको यो लगातार दोस्रो जित हो ।
जितका लागि पाएको २०६ रनको लक्ष्य पछ्याएको कालाशैनी १५ ओभरमा १२८ रनमा समेटियो । जसमा महेश चन्द र पञ्कज चन्दले २७/२७ रन जोडे भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा वीरेन्द्रका सङ्गम ठगुन्ना, टेकेन्द्र चन्द, दिनेश चन्द र विवेक चन्दले दुईरदुई विकेट लिएका छन् ।
यसअघि दशरथचन्द मावि सुन्दरखालीमा पहिला ब्याटिङ गरेको वीरेन्द्रले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २०५ रन बनाएको थियो । वीरेन्द्रका सङ्गम ठगुन्नाले अर्धशतकीय पारी खेल्दै ६३ र सुजल चन्दले ४५ रनको योगदान गरे । कालाशैनीका मनोज चन्दले तीन र विवेक चन्दले दुई विकेट हात पारेका हुन् । सङ्गम प्लेयर अफ दि म्याच चुनिएका छन् ।
आजको दोस्रो खेलमा एमजेसीलाई चार विकेटले पराजित गरेर कालिकाले पहिलो जित दर्ता गर्यो । एमजेसीले दिएको १४० रनको लक्ष्य कालिकाले १७ दशमलव तीन ओभरमा छ विकेटको क्षतिमा पूरा गर्यो । जसमा सुशील चन्दले २७, डम्बर महरले २६ र हरिस महरले २१ रन हिर्काएका छन् । बलिङतर्फ एमजेसीका पारस महरा र प्रज्ञान चन्दले दुईरदुई विकेट झारे ।
त्यसअघि पहिला ब्याटिङ गरेको एमजेसी १९ दशमलव चार ओभरमा १३९ रनमा समेटियो । उसका लागि विवेक धानुकले २६ र सुशील टमटाले २५ रन बनाए । कालिकाका चक्र महर, सुजल महर र बिपीन रावलले दुईरदुई विकेट लिएको थियो । खेलमा चक्र प्लेयर अफ दि म्याच घोषित भए । बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा वैशाख ५ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ वटा समूहको सहभागिता छ ।
प्रकाशित समय : २०:४० बजे


















