गृहपृष्ठ मेलम्चीको पानी काठमाडौंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण

मेलम्चीको पानी काठमाडौंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण

मेलम्चीको पानी काठमाडौंमा, खानेपानीमन्त्रीले सुरु गरे वितरण

काठमाडौंका धाराहरुमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको काम आजबाट पुनः सुरु भएको छ । वर्षायाममा बाढीले पुर्‍याएको क्षतिपछि मर्मत गरेर आजबाट मेलम्चीको पानी वितरण सुरु गरिएको हो ।

खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी आज बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रमा पुगेर पानी वितरणको काम सुरु गरे । उनले काठमाडौं उपत्यकामा पानीको समस्या अन्त्य गर्ने प्रतिबद्धतासमेत जनाए । नेकपा एमाले नेतृत्वको अघिल्लो सरकारको पालामा २०७७ चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा सार्वजनिक धाराबाट मेलम्चीको पानी वितरणको थालनी गरेकी थिइन् । तर पर्याप्त तयारी र अधुरो काम गराइका कारण केही दिनमै उक्त धाराबाट पानी आउन बन्द भएको थियो । लगत्तै असार महिनामा आएको बाढी र पहिरोले मेलम्चीको मुहानमै क्षति पुर्‍याएपछि पानी वितरणको काम पूर्णरुपमा रोकिएको थियो ।

खानेपानी मन्त्रालयले आयोजनाको मर्मत र सफाइको काम सम्पन्न गरेर २०७८ चैत मसान्तबाट काठमाडौंतर्फ पानी पथान्तरणको काम सुरु गरेको थियो । आजबाट नयाँ र पुराना धाराबाट मेलम्चीको पानी घर-घरमा पुग्ने मन्त्रालयका अधिकारीहरुको दाबी छ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी वितरण गर्ने भनिएको छ । तर त्यतिले काठमाडौंको माग नधान्ने भएकाले मेलम्ची आयोजनाकै सुरुङमार्ग प्रयोग गरी याङ्ग्री र लार्के खोलाबाट पनि थप ३४ करोड लिटर पानी काठमाडौं ल्याउने पहल भइरहेको छ ।

प्रकाशित समय : १६:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु