गृहपृष्ठ मधेसका ५० प्रतिशत बढी मतदानस्थल अतिसंवेदनशील
मधेसका ५० प्रतिशत बढी मतदानस्थल अतिसंवेदनशील
मधेस प्रदेशका ५० प्रतिशतभन्दा बढी मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखिएको छ । मधेसका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी निर्वाचन आयोगले प्रदेशका एक हजार ६३ मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखेको हो ।
यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा मधेसका अतिसंवेदनशीलको सूचीमा राखिएका मतदान केन्द्रमा त्यहीअनुरुपको सुरक्षा व्यवस्था मिलाइएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका डीआईजी उमेश रञ्जितकारले जानकारी दिए ।
विगतको निर्वाचनमा भएको निर्वाचन बिथोल्ने घटना, झडप र राजनीतिक असमझदारीजस्ता विषयलाई विश्लेषण गरी जिल्लास्थित सुरक्षा समितिले गरेको सिफारिसअनुसार नै निर्वाचन आयोगले मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरेको उनले बताए ।
यस्तै मधेसका ८२८ मतदानस्थलदाई संवेदनशील र २१२ मतदानस्थललाई सामान्यको सूचीमा राखिएको छ । प्रदेशमा दुई हजार १६३ मतदानस्थलमा चार हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन हुनु ७२ घण्टाअघिदेखि सीमानाका पूर्णरूपमा बन्द गरिनुका साथै सीमाक्षेत्रमा सुरक्षा निगरानी बढाउने योजना रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेशमा इजाजतप्राप्त १३६ हातहतियार बुझाइयो
स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी स्थानीय प्रशासनले इजाजतप्राप्त हतियार बुझाउन गरेको सूचनाबमोजिम मधेस प्रदेशमा १३६ हातहतियार बुझाइएको छ ।
प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयले चैत मसान्तभित्र इजाजतप्राप्त हातहतियार बुझाउन सूचना जारी गरेको थियो ।
सोही सूचनाका आधारमा हातहतियार राख्न पाउने इजाजत लिएका व्यक्तिले नजिकको प्रहरी कार्यालयमा हातहतियार बुझाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित समय : १५:५६ बजे



















