गृहपृष्ठ सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी, बागमतीकाे तटीय क्षेत्रमा सतर्क रहन अनुराेध
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी, बागमतीकाे तटीय क्षेत्रमा सतर्क रहन अनुराेध
चैत २९ गते मंगलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ ।
सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाको परामर्शदाता कम्पनी इप्तिसाका इञ्जिनियर विवेक खनालले जानकारी दिए । पानी आएपछि राति वासिङ गर्ने च्यानलमा पानी देखिएको थियो । च्यानलमा पानी देखिएपछि मेलम्चीको पानी सुन्दरीजल आइपुगेको पुष्टि भएको हो ।
गत वर्ष असार १ गतेदेखि नै पानी बन्द गरिएको सुरुङको फोहर पखालेर पानी अहिले बागमतीमा छोडिएको छ । मेलम्चीको पानी छोडेपछि बागमतीको बहाव केही बढेको छ । अहिले बागमतीमा धमिलो पानी बढेको स्थानीयवासी रामप्रसाद पुडासैनीले बताए । गत वर्ष सुरुङमा पानी बन्द गरेकै राति मेलम्ची खोलाको मुहान क्षेत्रमा लेदोसहितको बाढी आएर मुहान क्षेत्रमा निर्माण गरिएको खानेपानीका संरचनामा क्षति पुगेको थियो । क्षति भएको संरचना पुन:निर्माण गरी गत चैतमा सुरुङमा पानी हालिएको हो ।
मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा हाल्न सुरुङभित्र पानीले उचाइ लिनुपर्ने उनले बताए । मेलम्चीको पानी सुन्दरीजल आएसँगै आज बिहान खानेपानी मन्त्री उमाकान्त चौधरीले अवलोकन गर्ने कार्यक्रम रहेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।
यसैबीच बागमती नदीमा पानीका बहाव बढ्ने भन्दै मेलम्ची खानेपानी विकास समितिले काठमाडौंस्ति बागमती किनारमा बस्नेहरूलाई सतर्क रहन अनुरोध गरेको छ । ‘मेलम्ची खानेपानी आयोजनाको सुरुङ सञ्चालनको कार्य २०७८ चैत्र २९ गतेबाट अस्थायी रुपमा सुरु गरिएको छ। हाल नियन्त्रित दरबाट सुरुङ भरिने कार्य भइरहेको छ र २०७९ वैशाख ६ गतेबाट सुन्दरीजल सुरुङको सफाईको कार्य गरिने क्रममा मेलम्ची नदीबाट पथान्तरण भई आएको पानी बागमती नदीमा छाडिने छ,’ समितिले सोमबार जारी गरेको सूचनामा भनिएको छ, ‘यसबाट सुन्दरीजलदेखि तल बागमती नदीमा पानीको बहाव बढ्दै जाने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई विशेष सावधान रहन अनुरोध गर्दछौँ ।’
प्रकाशित समय : १३:३८ बजे



















