nmb bank

गृहपृष्ठ लागुपदार्थ प्रयोगकर्ताकाे संख्यामा अझै कमी आएन

लागुपदार्थ प्रयोगकर्ताकाे संख्यामा अझै कमी आएन

लागुपदार्थ प्रयोगकर्ताकाे संख्यामा अझै कमी आएन

सुरक्षाकर्मीले रातको समयमा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार चालकलाई बुधबार राति नियन्त्रणमा लिए । अरनिको राजमार्गअन्तर्गत बनेपा क्षेत्रमा जनपद र ट्राफिक प्रहरीको संयुक्त टोलीले दुई घण्टा जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि चारलाई पक्राउ गरेको हो ।

जाँचका क्रममा शंकास्पद देखिएपछि धुलिखेलस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गर्दा लागुपदार्थ सेवन गरेको जनाइएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार पक्राउ पर्नेमा बनेपा नगरपालिका-४ का ४२ वर्षीय महेश्वर श्रेष्ठ, राैतहटको गौर गाउँपालिका-१२ का ३६ वर्षीय गौरव सापकोटा, सुनसरीको इटहरी उपमहानगरपालिका-७ का २४ वर्षीय राजकुमार बस्नेत र काठमाडौँको शंखरापुर नपा-२ का २७ वर्षीय विक्रम विष्ट रहेका छन् ।

उनीहरुलाई काभ्रे जिल्ला प्रशासनबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइयो । गत साता पनि सुरक्षाकर्मीको संयुक्त टोलीले रातको समयमा सोही क्षेत्रमा चालकको जाँच गर्दा चारैलाई पक्राउ गरिएको थियो । अघिल्लो साता भने दुई चालक पक्राउ परेको जनाइएको छ ।

राति र दिउँसो चालकमा जाँच गर्दा मादक पदार्थ सेवन (मापसे)को मासिकरूपमा सरदर २० चालक पक्राउ पर्ने गरेको जिल्ला ट्राफिक कार्यालय प्रमुख इन्स्पेक्टर प्रमिला श्रेष्ठले बताए । उनका अनुसार रातको समयमा निर्माण सामग्री ढुवानी गर्ने टिपरका चालक तथा दिउँसो अरनिको र बिपी दुई राजार्गमा यात्रुवाहक सवारीको पनि जाँच गर्न थालिएको छ ।

मादक तथा लागुपदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना हुने भएकाले यसको न्यूनीकरण गर्न जाँचलाई निरन्तरता दिइने उनले बताए । उनले भने, '५१ यात्रुवाहक सवारी जाँच गर्दा चार चालकले मापसे गरेको पाइयो, यसले स्थिति भयावह हो भन्ने आकलन गर्न सकिन्छ ।'

उनका अनुसार कार्यालयमै लागुपदार्थ सेवन गरे-नगरेको पत्ता लगाउन धुलिखेलस्थित प्रादेशिक प्रयोगशालामा ‘किट’ माग गरिएको छ । हाल माग गरेअनुसार प्रयोगशालाबाट ५० देखि ६० वटासम्म किट उपलब्ध गराइएको छ । हाल साप्ताहिकरूपमा सवारीमा जाँच थालिएको हो ।

यसो त काभ्रेको पनौती नपा-२ स्थित एक मेडिकलबाट दुई महिनाअघि चिकित्सकको आधिकारिक सिफारिसबिना प्रतिबन्धित औषधि (नशालु पदार्थका रूपमा सेवन गरिने) बिक्री गरेको भेटिएपछि ठूलो परिमाणमा विभिन्न औषधि बरामद गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयको प्रतिवेदनका अनुसार बिपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास)बाट लागुऔषध ओसारपसार हुने गरेको घटनाक्रमले देखाएको छ । प्रहरीले सुराकीका आधारमा उक्त राजमार्गबाट आउने सवारी जाँच गर्दा दर्जनौँपटक प्रतिबन्धित औषधि बरामद गर्दै ओसारपसार संलग्न व्यक्तिलाई पक्रेर मुद्दासमेत चलाएको छ ।

प्रहरीले ती घटनामा सुराकीको भरमा मात्रै जाँच गरी लागुऔषध बरामद तथा ओसापसारकर्ता पक्राउ गरी सार्वजनिक गरेको पाइन्छ । उसको तथ्यांकानुसार विशेषगरी ‘टिनएजर्स’ यसको तस्करी र प्रयोकर्ताका रूपमा देखिएका छन् ।

तराई क्षेत्रबाट बिपी राजमार्ग हुँदै लागुऔषध तस्करी आउने क्रममा प्रहरीले घटना विवरणानुसार लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ जिल्लालाई बनाएको देखिन्छ । प्रहरीको अनुसन्धानबाट अवैध लागुऔषध नाइट्राभेट भने प्रतिचक्की एक हजारदेखि एक हजार ५०० सम्ममा बिक्री हुने गरेको खुलेको छ । नाइट्राभेट-१० एक पत्तामा १५ चक्की हुन्छ ।

छिमेकी देश भारतमा निद्रा नलाग्दा प्रयोग गरिने नाइट्राभेट-१० नेपालमा प्रतिबन्धित औषधि हो । काभ्रेपलाञ्चोक प्रहरीको तथ्यांकनुसार बितेको पाँच वर्षमा लागुऔषध ओसारपसारसम्बन्धी ३५ वटा मुद्दामा ६६ जना पक्राउ परेका छन् ।

पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रूपमा रहेको बिपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले उक्त राजमार्गमा निगरानी बढाइने जिल्ला प्रहरी प्रमुख इन्स्पेक्टर चक्रराज जोशीले बताए ।

यसअघि पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध संकलन गरी बनेपा र आसपासका सहर तथा काठमाडौँमा बिक्री गर्दै आएको तथा लागुऔषध विशेषगरी युवापुस्ताले प्रयोग गरेको पाइएको अनुसन्धानबाट खुलेको जनाइएको छ । पक्राउ परेकामध्ये अधिकांशले ‘ब्रोकर’ बनेर काम गरिरहेको बयान दिँदै आएका छन् ।

प्रकाशित समय : १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु